ओलीको ‘कर’ आतंकलाई सबक सिकाउन ‘रुख’मा भोट हालाैँः रामहरि खतिवडा

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको अहँकारले जनतालाई कर लगाएर दुःख दिएका कम्युनिस्टहरूलाई सहि ठाउँमा ल्याउने उचित अवसर रहेको भन्दै चुनाव चिन्ह ‘रुख’मा समय आएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले बुधबार क्षेत्र नम्बर १ ‘क’को प्रदेश सभातर्फको उपनिर्वाचनको प्रचार प्रसार अन्तर्गत अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै खतिवडाले भक्तपुरका जनताले सुर्वण अवसर पाएको बताए । नेपाली कांग्रेसको तर्फबाट भक्तपुरका प्रदेश सभामा कृष्णलाल भँडेल उम्मेदवार बनेका छन् ।

‘सबैसँग भिजेको उम्मेदवार पाउनुभएको छ । राप्रपा संयुक्तको पनि साथ छ’, उनले भने, ‘कम्युनिस्ट पार्टीले जसरी आफ्ना नामका अगाडि विदेशी माक्र्सको, कहिले लेनिनको, कहिले माओसहित विदेशी नेताहरूको नाम लिएर हिँड्थे त्यसैगरी नेकपाले बाहिरी जिल्लाको नेता ल्याएर उम्मेदवार बनाएको छ ।’

‘यो मौकाको सदुपयोग गर्ने बेला तपाईहरूको अगाडि आएको छ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने ।

‘समयमा बुद्धि पु¥याएनौँ भने हामी दुःख पाउँछौँ । हामीले दुई वर्ष अगाडि गरेको मतदानबाट सहि उम्मेदवारले नजित्दाखेरी नेपाल जनता करको भारमा पर्नु परेको छ’, खतिवडाले भने, ‘करको मात्रै भारमा परेनन् । संसदमा काम गर्ने कर्मचारी बलात्कारको भारमा पर्नुप¥यो । सहि मानिस नचुन्दाको गलत परिणाम पायौँ ।’

‘त्यति मात्रै होइन भ्रष्टाचारको मारमा पर्नु परेको छ । ३३ किलो सुन पचाउनेहरू, हिजो चौकीमा बम हान्नेहरू गृहमन्त्री बनेका छन् । उनीहरूले जनताको सुरक्षा गर्न सक्दैनन्’, खतिवडाले भनेका छन्, ‘त्यसैले कांग्रेसले जित्नुपर्छ । प्रचण्ड भक्तपुरमा भोट माग्न आउँदै हुनुहुन्छ । मलाई खुसी लाग्यो प्रचण्ड जी । गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेस नभएको भए प्रचण्डजी तपाई कुन जंगलमा लुकेर बस्नुपर्ने थियो ।’

‘नेपाली कांग्रेसले तपाईलाई जनतासँग भोट माग्ने पार्टी बनाइदिएको छ । हामीले तपाईलाई जनतासँग भोट माग्नुपर्छ भन्ने अवस्थामा पुर्‍याइदियौँ’, उनले भने, ‘केपी ओली हिजोसम्म बहुदल मान्नु हुँदैन थियो । बहुदलीय जनवाद भनेर मदन भण्डारीले ल्याएपछि कांग्रेसले गराएको चुनावमा प्रधानमन्त्री हुने अवसर पाउनु भयो ।’

‘नेपाली जनतालाई केपी ओलीले कर प्रसाद बनेर करको मारमा पार्नुभयो । करबाट मुक्ति दिनपनि नेपाली कांग्रेसलाई जिताउनुपर्छ’, उनले भने, ‘आज दुईतिहाइको सरकार छ । सरकारले जनतालाई राहत दिने बेलामा कञ्चनपुरकी एउटा महिला दुई वर्षदेखि हत्या हुँदा पनि प्रधानमन्त्री र नजिकका मान्छे गृहमन्त्री कहिल्यै त्यसको खोजी गर्न लागेनन् । हामीलाई आशंका छ । त्यही आशंकालाई मेट्नका लागि पनि तिनै चेलीका आमाबुबालाई न्याय दिलाउनका लागि सरकारको विरुद्धको उम्मेदवारलाई जिताउनुपर्छ ।’

‘देशमा दुईतिहाइका अरिँगालहरू हाम्रा साथीहरूलाई धम्काउन लागेका छन् । नेपाली कांग्रेस शान्तिप्रिय पार्टी हो’, उनले भने, ‘१२ वर्ष जनयुद्ध गरेको माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्यायौँ । बहुदलीय व्यवस्था नस्वीकार्ने कम्युनिस्टलाई गणतन्त्रवादी बनायौँ । झन् केपी ओली जीले त्यतिखेर भन्दै हुनुहुन्थ्यो बयल गाढा चढेर अमेरिका पुगिदैन ।’

‘नेपालमा गणतन्त्र आउँदैन भन्ने तपाईलाई गणतन्त्र नेपालका प्रधानमन्त्री बनाएका छौँ । उहाँलाई सहि ठाउँमा ल्याउन कांग्रेसले जित्नुपर्छ’, खतिवडाले भनेका छन्, ‘हाम्रा साथीहरूलाई कम्युनिस्ट पार्टीका साथीहरूले तर्साउन लाग्नुभएको रहेछ । हामीसँग राम्रोसँग कुरा र राम्रो काम गर्नुभयो भने कम्युनिस्ट पार्टीका साथीहरूलाई यिनै हातहरूले सलाम गर्नेछौँ । हाम्रा साथीलाई तर्साउन भड्काउन थाल्नुभयो भने यी हात फलामका रुपमा प्रस्तुत हुनेछन् ।’

‘कम्युनिस्टहरूले कुरा बुझुन् । हाम्रा तरुण दलका साथीहरूलाई थर्काउने काम गरेको, चुनावका दिन देख्लास् भन्ने गरेको, पख्लास् भन्ने गरेको हामीले सुनेका छौँ’, उनले भने, ‘आदरणीय कम्युनिस्ट मित्रहरू, हामीलाई राम्रोसँग बुझ्नुहोस् । राजाले कांग्रेसलाई तर्साउन खोज्दा हाम्रै हातबाट राजा हट्नु पर्‍यो ।

कम्युनिस्टले हामीलाई तर्साउन खोज्दा माओवादी भन्ने पार्टी नै निमिट्यान्न भयो । यदि दुईतिहाइको सरकारले प्रजातन्त्रवादी शक्तिलाई तर्साउन धम्काउन खोज्छ भने हाम्रै हातबाट यो दुईतिहाइको सरकार सत्ताच्युत हुनेछ । त्यो कुरा बुझुन् ।’

‘अहिले देशले परिवर्तन चाहेको छ । स्थिर सरकार हुँदा जनताले राहत पाएनन् । शान्तिको श्वास लिन पाएनन् । मुलुक समृद्धिको बाटोमा गएन’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘प्रधानमन्त्री उखान, टुक्कामा भुलेर बस्न थाले । समृद्धिको कुरा गर्ने काम केही नगर्ने । कहिले रेलको कुरा गर्ने, कहिले पानीजहाजको कुरा गर्ने ।’

‘तपाईले देख्नुभयो यिनै कम्युनिस्ट पार्टीका नेता बसेको घरबेटीले बानाएको बाटो दुरगति छ । यसरी जनताको सेवा हुँदैन’, उनले भने, ‘भ्रष्टाचारको नाममा प्रचण्डको घरबेटीले यही नगरकोट जाने बाटोको ठेक्का लिएर पूरा गर्न सकेका छैनन् । यो बाटोका विकासको लागि म अनशन बस्छु भन्ने कुरा प्रचण्डजीले भन्नुभएको छ । प्रचण्डजी मार्सी चामल खाएर त्यही घरमा बसिरहनुभएको छ । कहाँ अनशन बस्नु हुन्छ ?’

नेपाली कांग्रेसका नेता खतिवडाले कम्युनिस्ट भ्रष्टाचारीहरूलाई हटाउन पनि कांग्रेसलाई जिताउनुपर्ने बताए ।

Published : Wednesday, 2019 November 27, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया