कांग्रेसले आज अन्तिम सभाहरू गर्दै, देउवा–विश्व–गगन र रामहरिहरूले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको प्रचार प्रसार स्वरुप बुधबार विभिन्न स्थानमा चुनावी सभाहरू राखेको छ ।

कास्की, बागलुङ, भक्तपुर, दाङ, चितवन, पाँचथर, धरानसहितका स्थानमा नेपाली कांग्रेसले चुनावी सभा गर्न लागेको हो । चुनावी सभाहरूलाई नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

उपनिर्वाचनको प्रचार बुधबार मध्यराति १२ बजेसम्म मात्रै गर्न पाइनेछ । बुधबार राति १२ बजेपछि मौनअवधि शुरु हुनेछ ।

चुनावी सभाहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, रामहरि खतिवडासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारले देशमा अस्तव्यस्त अवस्था सिर्जना गरेको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले उपनिर्वाचनबाट सत्तारुढ कम्युनिस्टहरूलाई सबक सिकाउने तयारीमा छ ।

नेपाली कांग्रेसले रुख चिन्हमा मतदान गरेर आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गर्दै आएको छ ।

नेपाली कांग्रेसको तर्फबाट कास्की २ मा खेमराज पौडेल उम्मेदवार बनेका छन् ।

भक्तपुरको प्रदेश सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कृष्णलाल भँडेल उम्मेदवार बनेका छन् । बागलुङको प्रदेश सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितबहादुर शेरचनलाई उम्मेदवार बनाएको छ ।

दाङको प्रदेश सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट केशव आचार्य उम्मेदवार बनेका छन् ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले तिलक राईलाई मेयर पदमा उम्मेदवार बनाएको छ ।

Published : Wednesday, 2019 November 27, 10:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया