कम्युनिस्टहरू नै मुर्छा पर्ने गरी विद्या भट्टराईको सम्पत्ति कहाँबाट आयो ?

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारी कम्युनिष्ट विद्यार्थी राजनीतिबाट उदाएर छोटो समयमै राष्ट्रिय राजनीतिमा स्थापित भएका पूर्वमन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

साम्यवादी वर्गको प्रतिनिधित्व गर्ने समूहमा पर्छिन् । कम्युनिष्टहरूको भाषामा कास्की कांग्रेसका पुराना नेता खेमराज पौडेल, जसलाई कास्की कांग्रेसका ठूला नेतादेखि साना कार्यकर्तासम्म ‘खेमराज गुरु’ अथवा ‘खेमराज दाई’ भनि बोलाउने गर्छन्, उनी पूँजीवादी वर्गको प्रतिनिधित्व गर्छन् ।

यी दुई उम्मेदवारहरूको आर्थिक अवस्था हे¥यो भने तस्वीर उल्टो देखिन्छ । झण्डै अर्बको सम्पत्ति भएका स्व.रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई सर्वहारा कम्युनिष्टको प्रतिनिधित्व गर्छिन् । मुस्किलले केही लाखका धनि खेमराज पूँजीपतिको नेता हुन् ।

प्रतिनिधि सभाको निर्वाचन लगत्तै नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका रविन्द्रले ०७४ चैत २५ गते मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरणले अधिकारी र उनको परिवार साम्यवादी पार्टीको सर्वहारा नेता होइन नवधनाढ्य वर्गको पो हुन कि भन्ने तस्विर झल्किन्छ ।

विद्या भट्टराईका पति स्वर्गीय अधिकारीको सम्पत्ति विवरण अनुसार, उनको परिवारको नाममा सगोलमा पोखरा महानगरपालिका वडा नम्बर ३३ मा ९० रोपनीको एउटा र अर्को ५ रोपनी गरी ९५ रोपनी, वडा नम्बर २७ मा ४.५ रोपनी घडेरी, वडा नम्बर ५ मा ४.५ आना जग्गा पैत्रिक सम्पत्तिको रुपमा उनका बाबु ईन्द्रप्रसाद अधिकारीको नाममा रहेको छ ।

काठमाडौंको बुढानिलकण्ठमा आमा लक्ष्मीदेवी अधिकारीको नाममा ५ आना जग्गा पोखराको जग्गा विक्री र भाईहरूको आम्दानीमा खरिद गरिएको सगोल परिवारको सम्पत्ति रहेको उल्लेख छ ।

उनको पोखरा ३३ मा पुरानो घर छ । वडा नम्बर ५ मा साढे दुई तले पक्की घर छ । विद्या भट्टराईको काठमाडौंमा पनि पक्की घर छ ।

जब कि कांग्रेस उम्मेदवार खेमराज पौडेलको पोखरा २२ अर्थात पुम्दीभुम्दीमा २ रोपनी १५ आनाको एउटा र २ रोपानी ८ आना १ पैसा, एक दामी गरी कुल ५ रोपनी ७ आना, १ पैसा र १ दाम भिरपाखाको दोयम तथा १२ आना ३ पैसा, ३ दाम एउटा र १० आना अर्को कित्ता गरी कुल २२ आना ३ पैसा, ३ दाम खरबारी रहेको छ ।

पौडेलले ३ रोपनी ५ आना जग्गा पहिले नै विक्री गरेको देखिन्छ । यसअतिरिक्त उनकी कान्छी बुहारी रमा वाग्लेको नाममा पोखरा छिनेडाँडामा ५ आना जग्गा रहेको छ ।

पौडेलको वडा नम्बर २२ पुम्दीभुम्दी लुकुनस्वारामा जस्ताले छाएको धुरी र ढुंगाले छाएको पाली भएको सानो कच्ची घर छ ।

विद्या भट्टर्राइको परिवारका नाममा पैत्रिक सम्पत्तिकै रुपमा ६० तोला सुन र ३० केजी चाँदी रहेको उल्लेख छ । जसको मूल्य आजकै दिनमा सुनको ४२ लाख ७२ हजार तथा चाँदीको २१ लाख ६० हजार रुपियाँ हुन आउँछ ।

कांग्रेस नेता खेमराजको परिवारका नाममा श्रीमती र कान्छी बुहारी रमाको संयुक्त रुपमा करिब ७ तोला अर्थात ५ लाख रुपैयाँ बराबरको रहेको छ ।
रविन्द्र अधिकारीको गण्डकी विकास बैंक, पोखरामा १५ लाख ७ हजार ५ सय बैंक मौज्दात जग्गा विक्रीबाट तथा एभरेष्ट बैंक काठमाडौंको खातामा पारिश्रमिक वापत ९ लाख ५० हजार रहेको उल्लेख छ ।

नेपाली कांग्रेस उम्मेदवार पौडेलको पोखरा बाणिज्य बैंकमा पेन्सनका लागि खोलिएको बैंक खातामा मौज्दात नरहेको पारिवारिक स्रोतले बताएको छ ।

अधिकारीसँग गण्डकी विकास बैंकको २६ हजार बराबरको तथा पानीखोला जलविद्युत अयोजनामा ३० लाख बराबरको शेयर रहेको उल्लेख छ ।

पौडेलका कान्छा छोरा दर्शन पौडेलको नाममा कैलाश विकास बैंकमा दुई सय कित्ता शेयर, जविद्युत लगानी तथा विकास कम्पनी लि. को ८७ कित्ता श्रीमती रमासहितको नाममा रहेको छ।

त्यसैगरी दर्शनको नाममा एभरेष्ट बैंक र सानीमा बैंक, एसविआई र जनता बैंकमा एकरएक सयका दरले ४ सय तथा हिमालयन बैंकमा २ सय कित्ता शेयर रहेको छ ।

अधिकारीले २० लाखमा खरिद गरेको सानो कार रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख छ । पौडेलसँग कुनै सवारी साधन छैन ।

विद्या भट्टराई चुनावी प्रचारमा पनि महँगो टोयटा पिकअप भ्यानमा चढेर हिँड्ने गरेकी छिन् ।

विद्याको प्रचार प्रसार नेपाली कांग्रेसका पौडेलको भन्दै धेरै हाइफाइ रहेको छ । कांग्रेसका पौडेलले सामान्य गाडी भाडामा लिएर प्रचारमा हिँड्ने गरेका छन् ।

Published : Tuesday, 2019 November 26, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया