ओलीको राष्ट्रवाद नाङ्गियो, अब धरानले घमण्ड तोडिदिनुपर्छः गगन थापा

धरान । नेपाली कांग्रेसका युवा नेता गगन थापाले धराने जनता बदलिए मात्र धरानको विकास हुने बताएका छन् ।

धरानको भानुचोकमा मंगलबार आयोजित कांग्रेसका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि यसपालीको उपनिर्वाचनमा धरानका जनताले कांग्रेसका उम्मेदवार तिलक राईलाई मत दिएर धरानलाई समृद्ध शहर र कम्युनिष्टलाई सुध्रने मौका दिन आग्रह गरे ।

थापाले धरानको मौलिकता र आधुनिकतालाई २८ वर्ष शासन गरेका कम्युनिष्टले भोटसंग साटेर खाएको बताए । उनले धराने जनता बाँचे पनि हास्न छाडेको बताए ।

धरानबासीको मुहारबाट खुशी खोस्ने काम कम्युनिष्टका नेताले गरेको आरोप युवा नेता थापाले लगाए ।

कम्युनिष्टले केही पनि बदल्न नसक्ने बताउँदै युवा नेता थापाले भने, ‘केपी ओलीको राष्ट्रवादको धोती खुस्कीसकेको छ । कम्युनिष्टका नेताहरू भ्रष्टचारीको मसिहा भएर निस्किएका छन् । त्यसकारण कम्युनिष्टबाट केही परिवर्तन पनि सम्भव छैन ।’

विगतका केपी ओलीले देखाएको सपना सम्झदै थापाले भने, ‘कुरा मात्र गर्ने यो सरकार गफाडी हो । दुई वर्षमा आउँछ भनेको पानीजहाज र रेल खै कहाँसम्म आयो ?’

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै थापाले भने, ‘युवा रोजगारीको कुरा कहाँ पुग्यो दुई वर्षमा नेपालमा ५ सय उद्योग बन्द भइसकेको छ । ती उद्योग कहिले खुल्छ सरकार ?’

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले शाही आयोग जस्तै बनाउन खोजेको बताए ।

‘सरकारले सूचना प्रबिधि ऐन ल्याएर मिडियालाई अंकुश लगाउँदैछ । करले जनताको ढाड सेकेर राष्ट्रपतिलाई महारानीको रुपमा अलोकप्रिय बनाउँदैछ’, उनले भने, ‘नेपाली जनताको स्वतन्त्रता हरण गर्ने काम केपी ओलीले गर्दैछन् ।’

‘भारतले सीमा मिच्दा पनि कम्युनिस्ट सरकार चुइक्क बोल्दैन, वाइडबडी काण्डले सरकार भ्रष्टचारीको अखडा हो भन्ने पुष्टि भइसकेको छ’, नेपाली कांग्रेसका युवा नेता थापाले भने, ‘केपी ओली लाज पचाएर बसेका छन् । अब यो कम्युनिष्ट सरकारको घमण्ड धरानबाट तोड्नुपर्छ । धराने जनताले कम्युनिस्टलाई हराएर स्वाद बदल्नुपर्छ ।’

Published : Tuesday, 2019 November 26, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया