‘रुख’मा भोट हालेर धरानले कम्युनिष्टलाई सबक सिकाउनुस्ः देउवा

संगम बिष्ट

धरान । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेताहरूले धरानवासीलाई उपनिर्वाचनमा चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

धरानको भानुचोकमा मंगलबार आयोजित कांग्रेसका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवासहितका नेताहरू मत र मन बदलेर कांग्रेसलाई भोट दिएर कम्युनिष्टलाई सच्चिने मौका दिन आग्रह गरेका हुन् ।

सभापति देउवाले कम्युनिष्ट सरकारले जनताको आन्दोलनबाट प्राप्त लोकतन्त्रबिरुद्ध धावा बोलीरहेको आरोप लगाए ।

दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली राणा शासक जस्तै तानाशाही बन्दै गएको देउवाले आरोप लगाए ।

सरकारले लोकतन्त्र, प्रजातन्त्रमा जनताको अधिकारलाई खुम्चाउने, अराजक शैलीमा प्रजातन्त्रबिरुद्ध काम गरिरहेको बताउँदै उनले भने, ‘संसदलाई बन्धक बनाएर अध्यादेशमार्फत मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक, गुठी बिधेक जस्ता असंबैधानिक बिधेयकहरू ल्याएर जनताको अधिकार खोस्न खोजिरहेको छ ।’

कम्युनिस्ट सरकारले संवैधानिक अंगहरूलाई अधिनमा ल्याएर प्रजातान्त्रलाई निस्तेज पार्ने काम गरिरहेको उनले बताए ।

नेपाली कांग्रेसको सरकारको पालामा भएका नियुक्तिहरूलाई हटाइ रहेको उनले बताए । यसले राजनीतिक द्वन्द्व निम्ताउन सक्ने भन्दै देउवालाई सबैलाई सचेत हुन आग्रह गरे ।

उनले नेपाली कांग्रेसका युवा नेता तिलक राईलाई भोट दिएर धराने जनता शिक्षित रहेको पुष्टि गर्न आग्रह समेत गरेका छन् ।

Published : Tuesday, 2019 November 26, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया