विश्वप्रकाशले कम्युनिस्ट सरकारलाई दिए तनाब

काठमाडौं । नेपाली कांग्रेसले कुटनीतिक महल गरेर भारतले मिचेको नेपाली भू–भाग फिर्ता गराउन दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई देशको नक्साभित्र राखेर नयाँ सार्वजनिक गर्न माग गरेका छन् ।

‘हाम्रो देशको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गांसेर भारत सरकारले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दैछ’, शर्माले भनेका छन्, ‘घटना लगत्तै नेपाली कांग्रेसले गम्भीर विमती त प्रकट गर्‍योनै यो अवधिमा ती भू–भागबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता समेत निर्माण भएको छ ।’

‘तर यो महिना दिनको अवधिमा सरकारले न त गम्भीर कुटनैतिक पहल गरेको सुनिएको छ न त उच्चस्तरीय राजनैतिक संवाद गरेको देखिएको छ’, कांग्रेसले भनेको छ, ‘केवल प्रतिक्रिया मात्रै जनाएर सरकारको कर्तव्य पूरा हुन्न ।’

‘बलियो राष्ट्रिय एकताको साझा अभिमतलाई नेतृत्व गर्न र परिणाम हासिल गर्ने ढंगले सदुपयोग गर्न यस बीचमा सरकारले अयोग्यता प्रदर्शन गरेको छ’, शर्माले भनेका छन्, ‘त्यसैले अनेक आशंका उब्जनु स्वभाविक हो । तर पनि नेपाली कांग्रेसफेरि पनि दृढ ढंगले सरकारलाई साथ दिन प्रतिबद्ध छ ।’

‘राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने नेपाली कांग्रेसको प्रष्ट मान्यता छ’, शर्माले भनेका छन्, ‘त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न नेपाली कांग्रेसको नेतृत्वमा देशले सफलता हासिल गर्‍यो ।’

‘कालापानी प्रकरणमा परीक्षाको यहि दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको कांधमा आइपुगेको छ’, नेपाली कांग्रेसले भनेको छ, ‘सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहलकदमी नहुनु दुःखद त छ नै प्रश्न पनि उब्जिएको छ हिजोको राष्ट्रवादको उग्र भाव कृत्रिम थियो आज के प्राकृतिक स्वरुपमा लुलो राष्ट्रवाद प्रकट भएको हो ?’

‘नेपाली कांग्रेसफेरि पनि सरकारलाई सार्वजनिक रुपले अपिल गर्न चाहन्छ देशको वास्तविक नक्सा सार्वजनिक गर्न ढिलाइ किन ? गम्भीर कुटनैतिक पहलकदमी गर्न अलमल किन ? उच्च स्तरीय राजनैतिक संवाद मार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन शासकीय योग्यता अभाव किन ?’, कांग्रेसले प्रश्न गरेको छ ।

‘सार्वजनिक रुपले पुनः हामी दोहोर्‍याउन चाहन्छौं कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रा अविभाज्य भूमि हुन् । त्यहाँबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ’, प्रवक्ता शर्माले भनेका छन्, ‘कुटनैतिक र राजनैतिक पहल गरिनुपर्छ र यसका लागि नेपाल सरकारलाई नेपाली कांग्रेसको दृढ साथ रहनेछ ।’

Published : Tuesday, 2019 November 26, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया