राप्रपा संयुक्तले माग्यो भक्तपुरमा ‘रुख’लाई भोट, कम्युनिस्ट अरिँगालहरूलाई तनाब

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले उपनिर्वाचनको प्रचार प्रसारको क्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालस्थित सरस्वतीस्थान चोकमा कोण सभा आयोजना गरेको छ ।

कोण सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँ, राप्रपा संयुक्तका केन्द्रीय सदस्य रविन्द्र प्रताप शाह, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापति जीवन खत्री लगायत जिल्ला सदस्यहरू, क्रियाशील सदस्यहरू लगायत स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

कोण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बद्री पाण्डेले लोकतन्त्रको आडमा दुईतिहाइको कम्युनिस्ट सरकारले अधिनायकवाद लादिरहेको आरोप लगाए ।

उनले कम्युनिष्ट सरकारको २१ महिनाको शासनकालमा गरेका २१ काण्डले नै उनीहरूको विकास र समृद्धिको चरित्र उदांगो भएको बताए । उनले जनताहरू अब नक्कली कम्युनिष्टको भ्रममा नपर्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय पाण्डेले यो उपनिर्वाचनको परिणामले कम्युष्टि पार्टीलाई सुधार्नको दवाव दिने भएकोले भक्तपुरका जनताले रुख चिन्हमा भोट हालेर सरकारप्रतिको असन्तुष्टि मतबाट प्रकट गर्ने कुरामा विश्वास व्यक्त गरे ।

उनले बागलुङ्गमा संघीयता विरोधीसंगको सहकार्यले नेकपाको सिद्धान्त र आदर्शबीच तालमेल नदेखिएको आरोप पनि लगाए ।

बागेश्वरीका ईन्द्रबहादुर लामा र राजन पुरीलाई निर्ममतापूर्वक माओवादीले हत्या गरेकोमा भक्तपुरका जनताले माओवादी शान्ति प्रक्रियामा आएपछि माफी दिएपनि नबिर्सिएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले कुनै समय कम्युनिष्टको गढ रहेको काभ्रेको टुकुचा अहिले कांग्रेसको गढ भएको भन्दै स्थायी रुपमा कुनै पनि क्षेत्र कसैको गढ नहुने बताए । उनले नाला भक्तपुर सडकको कालोपत्रे कांग्रेसको पालामा भएको जानकारी गराए ।

कम्युनिष्टहरूले नेपाली कांग्रेसले गरेको कामको जस लिन खोजेका आरोप कांग्रेसका केन्द्रीय सदस्य हुमागाइँले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रीय सदस्य रविन्द्रप्रताप शाहले उपनिर्वाचन हारेमा नेपाली कांग्रेसको मात्र हार नहुने बताए ।

‘उपनिर्वाचनमा कांग्रेस पराजित हुँदा कांग्रेस मात्रै पराजित हुँदैन् । लोकतन्त्रवादीको हार हुन्छ’, उनले भने, ‘राप्रपा संयुक्तका सम्पूर्ण कार्यकर्ता तथा शुभ चिन्तकलाई रुख चिन्हमा मतदान गरी साझा उम्मेदवार कृष्णलाल भँडेललाई जिताउन अनुरोध गर्दछु ।’

उपनिर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस भक्तपुरले मंसिर १० गते साँझ साढे ४ बजे ताथलीपुलमा र साँझ साढे ५ बजे आयुर्वेदिक चोक खरीपाटीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा कोण सभा गरेको छ ।

चुनाव प्रचार प्रसारको अन्तिम दिन मंसिर ११ गते बुधबार १ बजे चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यातु महादेवसंगै जितपुर जानेबाटो हेल्मेटडाँडामा नेपाली कांग्रेस र राप्रपा संयुक्तको संयुक्त चुनावी आमसभा हुँदैछ ।

आमसभालाई नेपाली कांग्रेस र राप्रपाका शीर्ष नेताहरू लगायत युवा नेता गगनकुमार थापाले सम्बोधन गर्नेछन् ।

Published : Tuesday, 2019 November 26, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया