‘प्रचण्ड–रेणु’लाई कांग्रेसले पाठ सिकाउने, चितवनमा गगन आफै आउँदै

भरतपुर । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ५ बाट नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी प्रतिमा कार्की बस्नेतलाई जिताउन चितवन कांग्रेस दिनरात खटिएको छ ।

चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले वडाध्यक्षमा कार्कीलाई विजयी बनाउन आफै कमाण्ड सम्हालेका छन् ।

स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसँग तालमेल गरेर भतरपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहाललाई जिताएका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई धोका दिएर प्रचण्डले एमालेसँग तालमेलसँग पार्टी एकीकरण गर्न पुगेका थिए ।

प्रचण्डले दिएको राजनीतिका धोकालाई चितवन कांग्रेसले उपनिर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसले बदला लिने तयारी गरेको छ ।

सवारी दुर्घटनामा परेर निधन भएका श्रीमानको अधुरा सपना पूरा गर्न कार्की उम्मेदवार बनेकी हुन् ।

वडालाई नमूना बनाउने उनको योजना थियो । उनले भनिन्, ‘अब म वडाध्यक्ष भएर उहाँको अधुरा सपना पूरा गर्नेछु ।’

बस्नेत एकल महिला हुन् । ०७४ माघ ६ गते नगरपालिकाको कामको शिलशीलामा भरतपुरबाट फर्कदै गर्दा कार्कीका श्रीमान विश्वविजय बस्नेतको सडक दुर्घटनामा निधन भएको थियो ।

नेपाली कांग्रेस खैरहनीका नगर सभापति शशि खनियाँले महिलाले पनि संसारमा धेरै ठूला काम गरेको भन्दै मतदान गर्न अपील गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेस चितवनले खैरहनीको वडा नम्बर ५ मा मंसिर ११ गते बुधबार मध्यान्ह १२ बजे दुर्गामन्दिर चोकमा चुनावी सभा गर्दै छ ।

बुधबार नै कांग्रेसले खैरहनीको नवीन चोकमा चुनावी सभा गर्नेछ । चुनावी सभाहरूलाई कांग्रेसका नेताद्वय गगन थापा र डा.डिला संग्रौलाले सम्बोधन गर्नेछन् ।

Published : Tuesday, 2019 November 26, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया