गगनलाई देखेपछि बागलुङमा कम्युनिस्टहरू मख्ख, खुसी भए कांग्रेसका उम्मेदवार

बागलुङ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट सरकारले देखाएको हुतिहारा पाराले भारतले आफ्नो नक्सामा देखाएको कालापनी फिर्ता नहुने बताएका छन् ।

कांग्रेसले बागलुङ जिल्लाको बुर्तिबाङमा गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै नेता थापाले सरकार भारतसँग टक्कर गर्न नसक्दा नेपालको सिमाना भारतको नक्सामा पुगको बताए ।

उनले भने, ‘हाम्रो भूमि फिर्ता लिनका लागि कांग्रेस लगायतका दलहरूले साथ दिएपनि कम्युनिस्ट सरकारले वास्ता गरेको छैन ।’

राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाको लागि कांग्रेसले सरकारलाई जोडबलले साथ दिएको उनले बताए ।

‘हामी मात्र हैन अन्य दलहरूले पनि साथ दिँदा प्रधानमन्त्री केपी ओली यसको बारेमा केही पनि बोल्न सक्नुभएको छैन’, उनले भने, ‘भारतले सीमा मिचेको कुरामा सरकार केही बोलोस् भन्ने कांग्रेसको चाहना हो ।’

कांग्रेसका केन्द्रीय सदस्य थापाले अहिलेको सरकार कांग्रेसका पालामा भएको कामलाई शंख घण्ट बचाउँदै उदघाट्नमा मात्र हिँडेको आरोप लगाए ।

‘जनताले समृद्धि चाहेका छन् । समृद्धि कहिले आउँछ ?’, उनले प्रश्न गर्दै भने, ‘दुई वर्षमा जनताले धेरै समृद्धिको आशा गरेका थिए । देशमा समृद्धि आउलाभन्दा हत्या, हिंसा बढदै गएको छ ।’

‘जनताले अपमान हैन सम्मानका निम्ति नयाँ संविधान ल्याएका हुन्’, उनले भने, ‘संविधानको मर्म बुझेर सरकारले काम गर्नुपर्दछ ।’

उनले राष्ट्रिय जनमोर्चाप्रति कटाक्ष गर्दै सत्तारुढ नेकपाको खेदो खन्ने र संघीयताको विरोध गर्दै हिँड्ने चित्रबहादुर केसी पदको लोभमा निरन्तर चुनाब लड्न नछोड्ने बताए ।

‘मुद्धा एकातिर काम एकातिर नि सम्भव हुन्छ र कमरेड ?’, थापाले भने, ‘अघिपछि संघीयताको विरोध गर्दै प्रदेश चाहिँदैन भन्नेले अहिले आफ्नै दलको उम्मेदवार बनाएर निर्वाचनमा होमाउनु भएको छ ।’

थापाले राजमोले निर्वाचनसम्म नेकपाको साथ लिएको भन्दै निर्वाचनपछि नेकपालाई नै गाली गर्दै हिँड्ने बताए ।

नेपाली कांग्रेसका नेता थापाले बागलुङ प्रदेश सभा २ ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनको जित सुनिश्चत भइसकेको बताए ।

उनले बागलुङका जनता यस पटक आफ्नो मत बदल्ने र कांग्रेसका उम्मेदवार जित शेरचनलाई जिताउनेमा आफू ढुक्क रहेको बताए ।

कांग्रेसका उम्मेदवार जित शेरचनले आफ्नो जनताको हलि हुनका लागि उम्मेदवार बनेको बताए ।

मंसिर १४ गते बागलुङमा प्रदेश सभा सदस्य र वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

कार्यक्रमम राष्ट्रिय सभा सदस्य धना खटिवडा संघीय सांसद ज्ञानकुमारी छन्त्याल, संविधान सभा सदस्य नरबहादुर पुन निरज लगायतले जित शेरचनले जितेमा मात्र पश्चिम बागलुङका जनताको सपना साकार हुने बताए ।

चुनावी कार्यक्रममा आएका नेपाली कांग्रेसका युवा नेता थापालाई स्थानीय नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । बागलुङ कम्युनिस्टहरूको गढका रुपमा चिनिन्छ ।

Published : Monday, 2019 November 25, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया