कांग्रेसद्वारा कम्युनिस्ट सरकारको अर्को राष्ट्रघातको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले बुढी गण्डकी जलविद्युत परियोजनामाथि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राष्ट्रघात गरेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर १२ सय मेगावाटको बुढी गण्डकी जलविद्युत परियोजना विना प्रतिस्पर्धा चीनको विवादित कम्पनीलाई दिएको बताएका छन् ।

‘शान्ति, संविधान र चुनावपछिको नेपालमा आर्थिक समृद्धिले थप गति लिने विश्वास समस्त नेपालीको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारका कतिपय कर्मले त्यस्तो आशा र सपनामा गम्भीर असर पु¥याएका छन् ।’

‘त्यसमध्येको प्रतिनिधिमुलक घटना हो १२०० मेगावाटको बुढी गण्डकी जलविद्युत परियोजना माथि गरिएको राष्ट्रघात हो’, कांग्रेसले भनेको छ ।

‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर ५ रुपियाँका दरले केही वर्ष यता अलग्गै रकम उपभोक्ताबाट उठाइंदै आएको थियो’, शर्माले भनेका छन्, ‘बुढी गण्डकी परियोजना निर्माणमा लगानी गर्ने उदेश्यका साथ गत कात्तिक मसान्तसम्मको तथ्यंक अनुसार ३८ अर्ब रुपियाँ जम्मा भइसकेको छ ।’

‘वर्तमान सरकारले सो परियोजना आकस्मिक रूपमा एक बिदेशी कम्पनीलाई सुम्पिने निधो ग¥यो । त्योपनि बिना प्रतिस्पर्धा’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘देशमा तुलनात्मक रुपले सहज राजनैतिक वातावरण बनेको छ अतः संसारभरका नेपाली गाँस काटेर देशमा लगानी गर भनेर राष्ट्रले भावनात्मक अपील गर्ने र त्यसको व्यावहारिक गुरूयोजना तर्जुमा गर्ने ऐतिहासिक अवसर बन्नु पर्दथ्यो गत निर्वाचन लगत्तै पछिका दिनह’, विज्ञप्तिमा भनिएको छ ।

‘दुर्भाग्य नेपाली आफैंले निर्माण गर्न जरूरी र संभव ठहर गरिएको बुढी गण्डकी परियोजनामा त्यस्तो संभव सपनाको हुर्मत लिइयो’, शर्माले भनेका छन् ।

‘जसलाई सुम्पिइयो के उसले निर्माणको कार्यलाई पूर्णता दिनसक्ने संभावना र क्षमता प्रदर्शन गरेको छ ?’, शर्माले भनेका छन्, ‘यो प्रकरणको दोस्रो दुर्भाग्य घटनाको वर्षदिन पश्चात् सार्वजनिक भयो कागजी प्रक्रियाको ब्यवस्थित टुंगो समेत नगरेर सो विवादास्पद कम्पनी सम्पर्क विहीन बनेको छ ।’

‘हाम्रो प्रश्न छ : नेपाली आफैले बनाउन सक्ने ठहरका साथ अघि बढाउने संकल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गति अघि बढिसकेको स्थिति हुँदाहुँदै बुढी गण्डकीमा घात गरिनु राष्ट्रवाद कि राष्ट्रघात ? उठाइसकिएको र उठाउन जारी रहेकोे रकमको भविष्य के हुन्छ ?’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वको अघिल्लो सरकारले अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा नेपाली आफैले निर्माण गर्न सकिने मार्ग प्रशस्त गरेको थियोे ।’

‘वर्तमान सरकार त्यस विपरीत उभिनुको आन्तरिक अभिष्टमा आर्थिक चलखेलले भूमिका निभाएको छैन भनी आश्वस्त हुन सकिने के आधार छ ? अब समग्रमा बुढी गण्डकीको भविष्य के हुन्छ ?’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2019 November 25, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया