दाङमा देउवाको कार्यक्रममा छक्कै पर्ने मान्छेहरूको उपस्थिति, जिल परे कम्युनिस्ट (तस्वीर)

शरद रेग्मी

तुलसीपुर । उप–निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस दाङले चुनावी प्रचार–प्रसार अभियानलाई व्यापक बनाएको छ ।

चुनावी अभियान अन्तर्गत सोमवार पश्चिम दाङको श्रीगाउँमा बृहत चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभामा बोल्ने नेताहरूले नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर ३ ‘ख’मा केशव आचार्य उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको राष्ट्रवाद लिपुलेक, कालापानी र लिम्पियाधुरामा गएर लम्पसारवादमा परिणत भइसकेको बताए ।

देउवाले केपी ओलीको राष्ट्रवादले कालापानीमा गएर आत्मसमर्पण भएको बताए । देउवाले ओलीले विगतमा राष्ट्रवादको नाराले चुनाव जितेको भएपनि आज आएर त्यो राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको बताए ।

‘ओलीको राष्ट्रवाद आज कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसैले ओली राष्ट्रवादी पनि होइनन् । यी सब जालझेल मात्रै हुन्’, देउवाले भने, ‘कालापानीमा ओलीको आत्मसमर्पणवादले ओली राष्ट्रवादी हुँदै होइनन् भन्ने पुष्टि गरेको छ ।’

ओलीले राष्ट्रवादको नाममा र जातजातिको नाममा भोट लिएर आज जनताको अधिकार कुण्ठित पारेको देउवाले बताए ।

उनले नेपाली कांग्रेसले पार्टीको विधानमा ३३ प्रतिशत महिला आरक्षण दिएको, आदिवासी जनजातिहरूका लागि सहमहामन्त्री पद आरक्षण दिएको, थारु आयोग बनाएर थारुहरूलाई अधिकार दिएको, मधेसीलाई पनि आरक्षण दिएर ठूला पद दिएको बताए ।

देउवाले सहमहामन्त्री पद सानो पद नभएको बताए । देउवाले अरु पार्टीले त्यो सबै अधिकार नदिएको दाबी गरे ।

संविधान बनाउँदा नै कांग्रेसले महिला राष्ट्रपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुखमध्य महिला एउटा हुनै पर्ने बाध्यात्मक व्यवस्था गरेको सभापति देउवाले बताए ।

नेपाली कांग्रेसलाई सबैलाई आरक्षण दिएर सबैको साझा पार्टी बनाएको उनले जिकिर गरे ।

कम्युनिष्टको सरकार बनेपछि सबैभन्दा बढी जनता करको मारमा परेको उनले बताए । ओली सरकारले हुँदाहुँदा गोलभेडा र अण्डामा समेत कर लगाएको भन्दै उनले एक गाउँबाट अर्को गाउँमा जाँदा समेत कर लगाएर करको भार जनतालाई थोपरेको भन्दै आलोचना गरेका छन् ।

कम्युनिस्ट सरकारले उपभोक्ता समितिको नामबाट भ्रष्टचार र लुटतन्त्र मच्चाएको देउवाले आरोप लगाए ।

उनले अहिलको ओली सरकारको पालामा जस्तो यति ठूलो भ्रष्टचार विगतमा नेपालमा कहिलै नभएको दाबी गरे ।

अहिलको कम्युनिष्ट सरकारले २००७ साल क्रान्ति, २०४६ सालको आन्दोलन र २०६२–६३ को आन्दोलनबाट ल्याएको प्रजातान्त्रिक तथा गणतन्त्रत्मक हकअधिकार कुण्ठित पारेको बताए ।

देउवाले कम्युनिस्ट सरकारले जनतालाई तर्साएर, धम्काएर र प्रजातन्त्रलाई कमजोर गर्न खोजेको बताए । ‘जनता कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो । लोकतन्त्र कमजोर हुनु हो’, देउवाले भने, ‘कांग्रेसलाई कदापि स्वीकार्य हुन सक्दैन ।’

प्रजातान्त्रिक अधिकारमध्यको एउटा प्रेस स्वतन्त्रतालाई हनन् गर्न कम्युनष्टि सरकारले ठूला कारवाहीको कुरा गरेर तर्साउन खोजिएको भन्दै उनले आक्रोश प्रकट गरेका छन् ।

राज्यले देखाएको डर त्रासले गर्दा कुनैपनि पत्रकारले स्वतन्त्र पूर्वक लेख्न सक्ने अवस्था नरहेको देउवाले बताए ।

मानवअधिकार आयोग जस्तो संसारभरिको स्वतन्त्र आयोग भएपनि त्यसलाई पनि ओली सरकारले कुण्ठित गर्न खोजेको देउवाले बताए ।

सरकारले स्वतन्त्र न्यायालयमा समेत हस्तक्षप गर्न लागेको उनले बताए ।

सभापति देउवाले जुन देशमा स्वतन्त्र न्यायालय हुँदैन त्यो देशमा प्रजातन्त्र हुनै नसक्ने हुँदा त्यही बुझेरै यो सरकारले स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाउन खोजिरहेको आरोप लगाए ।

सभापति देउवाले मंसिर १४ गतेको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय बनाउन आग्रह गर्दै त्यसले मात्रै कम्युनिष्टको त्रास अन्त्य हुने र लोकतन्त्रको रक्षा हुने दाबी गरेका छन् ।

दाङमा स्वर्गीय नेता खुमबहादुर खड्काले नै विकासको जग हालेको भन्दै विकासको लागि कांग्रेसलाई मतदान गर्न उनले अपील गरेका छन् ।

कम्युनिष्टहरूले लाज नमानेर कांग्रेसले बनाएका बाटो र पुलहरू उद्घाटन गर्दै हिँडेको देउवाले बताए ।

कांग्रेसले ल्याएको संसदीय व्यवस्थामा देश चलिरहेको हुँदा कांग्रेसलाई विश्वास गरेर मतदान गर्न उनले आग्रह गरेका छन् ।

उनले आफूले हाललाई भनेर बुटवलमा कामचलाउको लागि अस्थायी राजधानी राखेको भएपनि दाङलाई राजधानी बनाउँछु भनेर मुख्यमन्त्री बनेकाहरूले राजधानी दाङमा सार्न किन नसकेको भन्दै प्रंश्न गरेका थिए ।

‘दाङमा राजधानी बनाउँछु भनेर मुख्यमन्त्री भएको हैन, खैत ल्याएको’, देउवाले प्रश्न गरेका छन् ।

कृष्णबहादुर महराले पनि दाङमा राजधानी ल्याउँछु भनेर भोट मागेको भएपनि उनीहरूले दाङलाई राजधानी नबनाएर जनता झुक्याउने खेल मात्रै गरेको देउवाले आरोप लगाए ।

‘खै महराले किन राजधानी दाङमा ल्याएनन् ? मुख्यमन्त्री शंकर पोखरेलले किन राजधानी दाङमा ल्याएनन्’, देउवाले भनेका छन्, ‘कम्युनिस्ट भनेका झुटको खेती गरेर जितेर सत्तामा लुट मच्चाउने मात्रै हुन् ।’

कम्युनिष्टले भोटका लागि जनता झुक्याउने मात्रै गर्दै आएको भन्दै उनले विकासमा पनि त्यस्तै गर्दै आएको दाबी गरेका छन् ।

‘अब तपाईहरूले भोट माग्न आउने कम्युनिष्टलाई हराउनुहोस्, राजधानी किन ल्याएनौं भनेर सोध्नुहोस्’, देउवाले भने, ‘तपाईहरूले कम्युनिष्टलाई हराउनु भयो भने मात्रै राजधानी दाङ ल्याउन बाध्य हुनेछन् ।’

कम्युनिष्टलाई यो उपनिर्वाचमा हराएपछि बाध्य भएर डराएर राजधानी दाङ ल्याउन उनीहरू बाध्य हुने देउवाले बताए ।

उनले लुटतन्त्र, त्रासबाट मुक्ति पाउन र लोतन्त्रलाई स्थायित्व गर्न नेपाली कांग्रेसलाई जिताउनुपर्ने बताए । देउवाले केवश आचार्यसहित देशभरि रहेका नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन रुखमा मतदान गरेर जिताउन अपील गरे ।

कम्युनिष्ट सरकारले करको भार बोकाएर जनतालाई आजित बनाएको भन्दै सभापति देउवाले अब कम्युनिस्ट सरकारलाई सच्याउन कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए ।

ओली सरकारले विकास निमार्णका कार्यको उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता भर्ने र प्रत्यक्ष सरकारी कोषमा लुट मच्याएको भन्दै देउवाले आक्रोश पोखेका छन् ।

देशको स्वतन्त्र न्यायपालिकाभित्र सत्ताको हस्तक्षेप भएको उनको भनाई छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको कम्युनिस्ट सरकारले देशको शान्ति सुरक्षालाई भगं पारेको बताए । ‘द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो’, उनले भने, ‘अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ ।’

पौडेलले मंसिर १४ मा हुन लागेको उप–चुनाव सरकार बदल्ने वा बनाउने नभएपनि आफैमा महत्वपूर्ण भएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले कम्युनिष्टको ज्यादती रोक्न कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

कम्युनिष्टले जनतालाई पैसा बाँडेर राजनीति गरिरहेको उनले बताए । ‘पैसा बाँडेर राजनीति गर्नु गलत हो’, डा.महतले भने, ‘देशमा शान्ति र लोकतन्त्रलाई बचाउन कांग्रेसलाई मतदान गर्नु होस् ।’

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेकपाको सरकार अत्यन्तै गैरजिम्मेवार ढंगले अगाडि बढेको बताए । उनले कम्युनिस्ट सरकारलाई सहि बाटोमा लैजान नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्ने बताए ।

उनले कम्युनिष्टको झुटको खेती बन्द गर्न नेपाली कांग्रेस यसका बिरुद्धमा रहेको बताए ।

नेपाली कांग्रेस सह–महामन्त्री डा.प्रकाशशरण महतले जनताका सामु काम गरेर देखाउने पार्टी भनेको नेपाली कांग्रेस मात्र भएको बताए ।

उनले कम्युनिस्ट सरकारले धर्म संस्कृति रक्षा गर्नुको साटो धर्म संस्कृतिमा पनि आक्रमण गरेको बताए ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’का पार्टी सभापति खिमबहादुर ओलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य देबेन्द्रराज कंडेल, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शीला गौतम खड्क, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटा, प्रनितिधि सभाका लेखा समिति सभापति भरतबहादुर शाह, प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह, पूर्व सांसद राजु खनाल, गेहेन्द्र गिरी, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

श्रीगाउँमा भएको चुनावी सभा कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी करीव ५ सयभन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर ३ ‘ख’मा केशव आचार्य प्रदेश सभामा उम्मेदवार बनेका छन् । उनलाई भोट माग्न देउवासहितका नेताहरूले दाङमा चुनावी कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

Published : Monday, 2019 November 25, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया