उपनिर्वाचनका बेला ऋषिङ कम्युनिस्ट मुक्त, भण्डारीले भित्र्याए नेकपाका कार्यकर्ता

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।

झापुटारमा सोमबार आयोजित नेपाली कांग्रेसको कार्यक्रममा नेकपाका पदमबहादुर थापासहित सयौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस नेता भण्डारीले पार्टीमा प्रवेश गराएको तनहुँ कांग्रेसले जनाएको छ ।

पार्टी प्रवेश गर्ने नेकपाका युवाहरूले कम्युनिस्टहरूको झुठको आश्वासनबाट दिक्क भएर नेपाली कांग्रेस प्रवेश गरेको बताएका छन् ।

उनीहरूले जनताको समस्या कम्युनिस्टहरूले पूरा गर्छन् कि भनेर गएको निर्वाचनमा कम्युनिस्टहरूलाई मतदान गरेका मतदाताहरू आजित बनेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका युवाहरूको राजनीतिक रुपमा योग्यताअनुसार संरक्षण गर्ने आश्वासन दिए ।

‘तपाईहरूलाई कांग्रेसले संरक्षण गर्नेछ । योग्यता र क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिइनेछ’, उनले भने, ‘अब कम्युनिस्टहरूको दिनगन्ती शुरु भएको छ । अर्को चुनावमा कांग्रेसको जित सुनिश्चित छ ।’

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आले, ब्यास नगरपालिका मेयर बैकुण्ठ न्यौपाने, पूर्वसांसद ध्रुब वाग्ले, कांग्रेसका जिल्ला सचिब विश्व बास्तोला, नेपाली कांग्रेसका युवा एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, ऋषिङ गाउँपालिकाका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका प्रमुख विनोद जिसी, सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरूले पनि नेकपाले जितेका स्थानमा कम्युनिस्टहरूले जनतालाई दुःख दिएको बताए । उनीहरूले कांग्रेसले मात्रै जनताको पीरमर्का बुझ्ने भन्दै कम्युनिस्टहरूलाई जनताले दुई वर्षभित्र राम्रोसँग चिनेको बताए ।

ऋषि गाउँपालिकामा आठ वटा वडाहरू छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूसहित सबै स्थानमा नेपाली कांग्रेसले जितेको छ ।

बचेखुचेका कम्युनिस्टहरू पनि सोमबार नेपाली कांग्रेसमा भित्रिएपछि ऋषिङ गाउँपालिका कम्युनिस्टमुक्त गाउँपालिका बनेको चर्चा हुन थालेको छ ।

दुई महिना अगाडि ऋषिङ गाउँपालिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्टीको कार्यक्रममा सहभागी हुन आएका बेला नेकपाका केही लठैतहरूले बियरका बोटल र लाठी लिएर बाटो छेकेर अबरोधको प्रयास गरेका थिए ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूले लठैतहरूको प्रतिकार गरेपछि भागेका थिए ।

Published : Monday, 2019 November 25, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया