पत्नी माेह राख्ने कम्युनिस्टहरूलाई रामचन्द्र पाैडेलले दिए भुतुक्क हुने झट्का

तुलसीपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको कम्युनिस्ट सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् ।

रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकार सामन्ती राणा शासनको नयाँ संस्करण भएको आरोप लगाए ।

‘राणाको पथमा हिँडेर यिनीहरूले देशलाई त्यस्तै सामन्ती बाटोमा लैजान खोजिरहेका छन्’, उनले भने, ‘एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई उल्ट्याउँदै गएका छन् ।’

द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले कम्युनिस्ट सरकारले त्यसलाई उल्टोबाटो सामन्तवादतर्फ लैजान खोजेको बताए ।

‘यो सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको छ’, पौडेलले भने, ‘यो सरकारको कुनै विचार, सिद्धान्त, निष्ठा र आधार छैन ।’

उनले पतिको मृत्युपछि पत्नीलाई उम्मेदवार बनाउनु त्यसैको सूचक भएको बताए । ‘अहिलेको सरकारमा कुनै पनि आर्दश छैन । अवसरवादी जमात मात्रै हो’, उनले भने, ‘कांग्रेसको लोकप्रियतासँग डराएर कम्युनिस्टहरूले पराजित हुने डरले मृत्यु भईसकेका नेताहरूका पत्नीहरूलाई उम्मेदवार बनाएका छन् ।’

त्यही भएर कम्युनिष्ट सरकारको ज्यादतीको विरुद्धमा नेपाली कांग्रेस देशभरि चुनावी अभियानमा जुटेको बताए ।

जनतालाई असम्भव खालका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको उनले बताए ।

‘यो सरकारले कुनैपनि राम्रो काम गर्न सकेन’, पौडेलले भने, ‘नेपाली कांग्रेसले शुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै कम्युनिस्टले त्यही मञ्चबाट हामीलाई गाली गर्ने काम मात्रै गरिरहेका छन् ।’

कांग्रेसका नेता पौडेलले कम्युनिष्ट सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको बताए ।

नेता पौडेलले सरकारले भारतले निकालेको नयाँ नक्सा सच्याउनप्रति कुटनीतिक पहल थाल्न नसकेको बताए । उनले बाहिर–बाहिर मात्रै बोलिरहेको भन्दै आलोचना गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताए ।

‘दुईतिहाइको कम्युनिस्ट सरकारले गरेको ज्यादती, भ्रष्टचारको उपनिर्वाचनपछि पर्दाफास हुनेछ’, गिरीले भने, ‘कम्युनिस्ट सरकारले लोकतन्त्रको मिडियालाई समेत औँला ठड्याएर आफ्नो चरित्र उदांगो पारेको छ ।’

Published : Monday, 2019 November 25, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया