बालुवाटारभित्रै ओलीले खुवाए मन्त्री र मन्त्रीका पत्नीहरूलाई लोकल भाले

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा राखिएको रात्रि भोजलाई आफ्नै पार्टीका पूर्वमन्त्री र नेताहरूले बहिस्कार गरिदिएका छन् ।

ओलीको दल नेकपाका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डित, थममाया थापा, मातृका यादव, चक्रपाणि खनाल, रामकुमारी चौधरीले ओलीको रात्रि भोज बहिस्कार गरेका हुन् ।

अनौपचारिक रूपमा खबर आए पनि सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न जान नसकेको जनाइएको छ ।

पण्डितले प्रधानमन्त्री कार्यालयबाट आफूलाई निम्तो आएको विषयमा कुनै जानकारी नरहेको बताएका छन् । रघुवीर महासेठ भने ओलीको रात्रि भोजमा पुगेर खाना खाएका छन् ।

ओलीले मन्त्री पदबाट बर्खास्त गरेर आत्मसम्मानमा ठेस पु¥याएकाले आफस्हरू प्रधानमन्त्रीको भात खान नगएको एकजना पूर्वमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले जिम्मेवारीमुक्त भएका, नवनियुक्त र बहालवाला मन्त्रीहरूका लागि रात्रिभोज आयोजना गरेर उनीहरूलाई दम्पतीसहित आउन निम्तो दिएका थिए ।

शनिबार बेलुका ६ बजेतिर शुरु भएको भोज राति ८ बजे सकिएको थियो । भोजमा काठमाडौंमा नभएकाबाहेक सबै बहालवाला मन्त्री दम्पतीसहित गएका थिए ।

ओलीको रात्रि भोजमा मन्त्रीका श्रीमतीहरूले पनि आपसमा चिनजान गरेको पर्यटनमन्त्री योगेश भट्टराईले कान्तिपुर दैनिकसँग प्रतिक्रिया दिएका छन् ।

भोजमा लोकल कुखुराको मासु र मेथीको दाललाई विशेष परिकारका रूपमा राखिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीपत्नी राधिका शाक्यले मेथीको दाल बनाउने तरिका र त्यसबाट हुने फाइदाबारे बताएको ती सदस्यले बताएका छन् ।

प्रधानमन्त्री ओलीले विभिन्न अवसरमा यस्ताखाले कार्यक्रम आयोजना गर्दै आएका छन् ।

ओलीले मन्त्रीहरू र मन्त्रीका पत्नीहरूका लागि परिवारसहितको कार्यक्रम राखेको पहिलो पटक भएको जनाइएको छ ।

Published : Monday, 2019 November 25, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया