भक्तपुरमा कांग्रेसलाई ठूलाे फाइदा, एउटा ठूलै दलले दियाे साथ

भक्तपुर । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनता आजित बनेको आरोप लागिरहेका बेला भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा हुन लागेको उपनिर्वाचनमा राप्रपा संयुक्तले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।

राप्रपा संयुक्तका उम्मेदवार रामशरण लामिछानेको उम्मेदवारी खारेज भएपछि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने भएको हो ।

उक्त क्षेत्रमा बलियो पकड भएको राप्रपा संयुक्तले नेपाली कांग्रेसलाई सघाउने भएपछि कम्युनिस्टहरूभित्र खैलाबैला भएको छ ।

राप्रपा संयुक्त र नेपाली कांग्रेसले आयोजना गरेको संयुक्त कार्यक्रममा राप्रपा संयुक्तले कांग्रेसलाई सघाउने घोषणा गरिएको हो ।

राप्रपा संयुक्तका केन्द्रीय सदस्य एवं युवा नेता रवीन्द्रप्रताप शाहले देशमा विद्यमान अराजकताको अन्त्यका लागि लोकतान्त्रिक शक्तिको विकल्प नभएको भन्दै आफूहरू एक भएर निर्वाचनमा होमिएको बताएका थिए ।

उनले यो समायोजन मात्र एक नभएको बताउँदै आगामी स्थानीय निकायको निर्वाचनमा र प्रदेश एवं संघको निर्वाचनमा पनि आफूहरू एक भएर उभिने बताएका थिए ।

राप्रपाले नेपाली कांग्रेसलाई सघाउनु विद्यमान सरकारका प्रलोभन छोडेर लोकतन्त्रको रक्षाका लागि चालिएको कदम भएको नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बताएका थिए ।

उनले नेकपाले दिएको विभिन्न प्रलोभनभन्दा स्थानीय जनता एवं लोकतन्त्रलाई आफ्नो जिम्मेवारी सम्झेर राप्रपाले आफूहरूलाई सघाउने गरेको प्रतिबद्धता लामो समयसम्म जाने उनले बताएका थिए ।

स्थानीय निकायको निर्वाचनमा राप्रपाले नेपाली कांग्रेसलाई सघाउने भएपछि नेपाल मजदुर किसान पार्टी र नेकपालाई भने उक्त प्रदेशमा निकै कठिन हुने भएको छ ।

पार्टीबीचको चुनावी एकता कार्यक्रममा जिल्लाका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो ।

उक्त प्रदेशमा नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल उम्मेदवार रहेका छन् । नेमकिपाबाट निरज लवजु, नेकपाबाट देवीप्रसाद ढकाल साथै राप्रपाबाट श्याम नेपाल मुख्य रूपमा उम्मेदवार रहेका छन् ।

Published : Monday, 2019 November 25, 7:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया