कम्युनिस्ट हराउन भक्तपुरमा कांग्रेसको रणनैतिक गोप्य भेला, बालुवाटारमा खैलाबैला

भक्तपुर । नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय कार्य समिति भक्तपुरको आयोजनामा संचालित १ दिने रणनीतिक प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र, खरीपाटीमा संचालित प्रशिक्षणमा भक्तपुर प्रदेश सभा १ ‘क’ अन्तर्गत चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको १० नं वडाका वडा सभापतिहरू, सह–सभापतिहरू, बुथ संयोजक, सदस्यहरू, क्षेत्रीय प्रतिनिधिहरू र क्रियाशील सदस्यहरू गरी ११० जनाको उपस्थिति रहेको थियो ।

सहभागीहरूलाई स्वागत गर्दै १ नं क्षेत्रीय सभापति जीवन खत्रीले उपनिर्वाचन लोकतान्त्रिक र निरंकुशतावादी कम्युनिष्ट सरकारबीचको भिडन्त भएकोले सबै साथीहरूलाई मंसिर १४ गतेसम्म अहोरात्र खटिएर पार्टीको जितलाई सुनिश्चित गराउन अनुरोध गरेका छन् ।

उपनिर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गराउन निर्वाचनका रणनीतिक कार्ययोजना र बुथ संयोजक तथा प्रतिनिधिहरूको काम, कर्तव्यबारे अभिमुखीकरण गर्ने उद्धेश्यले संचालित प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा.चन्द्र भण्डारी र गुरुराज घिमिरले समसामयिक राजनैतिक सन्दर्भ र चुनावी मुद्धाका बारेमा र अधिवक्ता विवेकराज ढुंगेलले निर्वाचन कानून र बुथ एजेण्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सहजीकरण गरेका थिए ।

प्रशिक्षणका क्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उनले मंसिर १४ गतेको उपनिर्वाचनको पूर्व सन्ध्यामा सत्ता र शक्तिको आडमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले झुठा आश्वासन र लोभ देखाएर सोझा तथा सिधा जनतालाई भ्रममा पार्न सक्ने बताए ।

उनले त्यसतर्फ सजग भई जनताहरूको घरदैलोमा गएर सरकारका २१ महिनाको २१ असफलताको बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।

उनले विभिन्न प्रलोभन, डर र धम्कीका भरमा पार्टी प्रवेश गराउने नेकपाको कार्यले उनीहरूको हारको मानसिकता उजागर भएको बताए ।

प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि मन्तव्य राखेका थिए । उनले कम्युनिस्टहरूलाई कुनै पनि हालतमा हराउनु पर्ने बताए । बस्नेतले कम्युनिस्टहरू हार्ने भएपछि पागल हात्ति जस्तो हुन सक्ने भन्दै सर्तक हुन अपील गरेका छन् ।

केन्द्रीय सदस्य सीता गुरुङ्गले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थको संयोजकत्वमा संचालित प्रशिक्षणमा १० वटै वडाका सभापतिहरूले संक्षिप्त रुपमा प्रगति विवरण पनि पेश गरेका थिए ।

Published : Sunday, 2019 November 24, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया