दाङका जनताले देखाइदिए कम्युनिस्टहरूलाई औकात, कांग्रेस खुसी, कम्युनिस्टकाे घरमा रुवाबासी

तुलसीपुर । दुईतिहाइको कम्युनिस्ट सरकारका कारण जनता आजित बनेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा भित्रिएका छन् ।

प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेल र संसद सचिवालयकी महिला कर्मचारीलाई भ्याएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महराको जिल्ला दाङका नेकपाका नेता तथा कार्यकर्ताहरू आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’मा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार केशव आचार्यलाई पञ्चकुले, ढोलपुर र मलईमा पुगेका डा.महत र खतिवडाले नेकपाका दर्जनौं कार्यकर्तालाई कांग्रेमा प्रवेश गराएका हुन् ।

नेकपाका नेता बलबहादुर बस्नेतको नेतृत्वमा कुलबहादुर वली, टेकबहादुर बिक, मनिराम बुढाथोकी, बलबहादुर बुढा, भद्रबहादुर बुढाथोकी, राजकुमार बुढाथोकी, तिलक घर्ती, टोपेन्द्र बुढाथोकी, मंगलसिंह बुढा, मीनबहादुर कुँवर, जोगबहादुर घर्ती, तिलक बस्नेत, पूर्णबहादुर घर्ती, वीरबहादुर बुढाथोकी, तिलकबहादुर घर्ती, वेलमती पुन, गौसरी पुन, पनिता वली, पूर्णकला परियार, निमकुमारी बुढाथोकी, यज्ञ बुढाथोकी लगायत नेताकार्यकर्ताहरूलाइ कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै सह–महामन्त्री डा.महतले कम्युनिस्टले जनतालाई झुटा आश्वासन दिएर प्रलोभन देखाउने गरेको कुरा पुष्टि भइसकेको बताए ।

‘कांग्रेसले झुट बोल्दैन, जे बोल्छ त्यो गर्छ’, डा.महतले भने, ‘कम्युनिस्टले कुरा एउटा काम अर्कै गर्छन्, सुशासनका गफ दिएर देशमा भ्रष्टाचार र बलात्कार बढाएका छन्, जनतालाई सुरक्षा छैन ।’

कम्युनिस्टको बढ्दै गएको मनपरी नियन्त्रण गर्न कांग्रेस दाङको उपनिर्वाचममा नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार केशवराज आचार्यलाई मतदान गरी जिताउन उनले आह्वानसमेत गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले कांग्रेसका नेता स्व.खुमबहादुर खड्कालाई सम्झेर दाङको विकासमा पु¥याएको योगदानको कदर गर्दै कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् ।

‘कांग्रेस नेता स्व.खुमबहादुर खड्काको सपना साकार पार्न केशवराज आचार्यलाई जिताउनुहोला’, उनले भनेका छन् ।

जनताका दुःख र समस्या बुझेको नेता भएकाले आचार्यलाई भोट दिए पछुताउनु नपर्ने उनले बताए ।

‘कांग्रेसले बाटो बनायो, पुल बनायो, स्कूल बनायो, स्वास्थ्यचौकी र पुलिसचौकीहरू बनायो । कम्युनिस्टहरूले हामीले बनाएको सबै भत्कायो’, खतिवडाले भने, ‘धरोधर्म कांग्रेसलाई भोट नदिएर कम्युनिस्टलाई भोट दिनुभयो भने पाप लाग्छ ।’

पार्टी छाडेका नेकपाका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टहरूबाट जनताको काम हुन नदेखेपछि आफूहरूले बाध्य भएर नेकपाभन्ने पार्टी छाडेको बताए ।

उनीहरूले जनतालाई साथ दिने पार्टी कांग्रेस भएको बताएका छन् ।

Published : Sunday, 2019 November 24, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया