कम्युनिस्ट सरकारलाई सच्याउन कांग्रेसले जित्नुपर्छः देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले उपनिर्वाचन जितेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश दिन खोजेको बताएका छन् ।

नेपाली कांग्रेस, पोखरा–१६ ले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको पक्षमा जनमत छैन भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सन्देश पु¥याउन चाहेको बताए ।

‘केपी ओलीको सरकार गलत बाटोमा छ’, उनले भने, ‘अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक छ ।’

सभापति देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको बताए । उनले कम्युनिस्ट सरकारले न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाए ।

सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताए ।

ओलीको खोक्रा आश्वासन अब जनताले नपत्याउने भन्दै देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाए ।

‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं’, उनले भने, ‘सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं । सरकार मौन छ । कानमा तेल हालेर अझै बसिरहेको छ ।’

उनले सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले तपस्वी नेता खेमराज पौडेलमाथि धेरै नै अन्याय भएको स्वीकार गरेका छन् ।

‘उहाँ जत्तिको त्यागी नेतामाथि अन्याय भएकै हो’, उनले भने, ‘उहाँलाई न्याया दिने दायित्व कस्कीका जनताको हातमा छ । उहाँलाई अत्यधिक मतका साथ सदनमा पु¥याइदिनुस् ।’

Published : Saturday, 2019 November 23, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया