कास्कीमा सरकारी कम्युनिस्टको किल्ला तोडिने, देउवा पौडेलहरु पोखरामा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु कास्की २ मा पार्टीका उम्मेदवार खेमराज पौडेलको प्रचारमा पोखरामा जम्मा भएका छन् ।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र कांग्रेसका पदाधिकारीहरु नै पोखरामा बसेर पार्टीका उम्मेदवार पौडेलका पक्षमा मत मागेका हुन् ।

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई साथ दिन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र डा.शशांक कोइरालापनि पोखरामा आएका छन् ।

नेताहरु बालकृष्ण खाँण, धनराज गुरुङ, गगन थापा, बहादुरसिंह लामा, उदयशम्शेर राणा, रामहरि खतिवडा, सीता गुरुङ लगायत दुई दर्जनभन्दा धेरै केन्द्रीय नेताहरु कास्कीको निर्वाचनमा प्रचारका लागि आएका हुन् । नेपाली कांग्रेसले कास्की २ को निर्वाचन प्रचार प्रसारका लागि केन्द्रबाट डा.मीनेन्द्र रिजाललाई कमाण्डर तोकेर पठाएको छ ।

शुक्रबार अपरान्ह साढे चार बजे सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका नेताहरु पोखराको चिप्लेढुंगाबाट भएको चुनावी प्रदर्शनमा सहभागी भएका थिए ।

देउवा र पौडेललाई दायाँ र बायाँ राखेर कास्की २ का उम्मेदवार पौडेलले घरदैलो गरेर आफूलाई मत मागेका छन् ।

नेपाली कांग्रेसका नेताहरुले पनि पौडेललाई मतदान गरेर दुईतिहाइको कम्युनिस्ट सरकारका गलत कुरालाई अंकुश लगाउन आग्रह गरेका थिए ।

सभापति देउवा र पौडेल शनिबार कास्की २ का विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् । ती कार्यक्रमहरुमा उम्मेदवार पौडेलका पक्षमा मत माग्नेछन् ।

सरकारी कम्युनिस्ट नेकपाको किल्लाका रुपमा चिनिएको कास्की २ लाई नेपाली कांग्रेसले उपनिर्वाचनमा कब्जा गर्ने जनाएको छ । त्यसका लागि देउवा, पौडेलसहितका नेताहरुले रणनीति बनाएका छन् ।

Published : Saturday, 2019 November 23, 7:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया