पोखरामा गगनले जादु चलाए, सरकारी कम्युनिस्टहरुका खुट्टा काम्न थाले

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले दुईतिहाइको कम्युनिस्ट सरकारलाई खबरदारी गर्न कास्कीले खेमराज पौडेललाई विजयी बनाएर पठाउनुपर्ने बताएका छन् ।

नेपाल तरुण दल कास्की क्षेत्र नम्बर २ ले शुक्रबार पोखराको वाइचोकमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनताले दिएको अभिमतका कारण अराजक बन्दै गएको सरकारलाई खेमराज पौडेलको जितले सहि बाटो देखाउने बताए । उनले सरकारी कम्युनिस्टहरुका उम्मेदवारलाई कास्कीका मतदाताले हराउनुपर्ने बताए ।

‘यो उपनिर्वाचन जितेर नेपाली कांग्रेसलाई कुनै फाइदा वा बेफाइदा हुने होइन’, उनले भने, ‘संविधान मिच्दै गएको यो सरकारलाई सहि बाटोमा ल्याउन खेमराज पौडेलको जितले निकै ठूलो भूमिका खेल्छ ।’

‘खेमराज पौडेलले जित्नुभयो भने सानो आकारमा रहेको नेपाली कांग्रेसको संख्या थोरै मात्रै बढ्ला । विद्या भट्टराईले जित्नुभयो भने नेकपाको सागरभित्र उहाँ हराउनु हुनेछ’, नेपाली कांग्रेसका थापाले भने, ‘खेमराज पौडेल संसदको बैठकमा बस्दा उहाँको अग्लो कद र टोपी देखेर केपी ओली झस्किने छन् । विद्या भट्टराईको जितले कुनै अर्थ राख्दैन ।’

‘हो विद्याजी बालुवाटार जानु होला । यसो गरौँ । उसो गरौँ भन्नु होला । प्रधानमन्त्री ओलीजीले के भनेको रे ? भनेर हप्काउनुभयो भने गोडाफाट गरेर लुरुलुरु फिर्ता हुनुभन्दा अर्को बिकल्प छैन । विद्या भट्टराईजी ओलीको आज्ञाकारी भएर आउनु हुनेछ । ओलीजीको अगाडि बोल्न सक्नु हुनेछैन’, उनले भने, ‘संविधानको सहि कार्यान्वयन, जनताले दिएको झण्डै दुईतिहाइको बहुमत सहित ठाउँमा कार्यान्वयन गर्न खेमराज पौडेललाई जिताउनुस् । खेमराज पौडेललाई संसदमा सधैँ देखेपछि ओलीजी पटक पटक झस्कनु हुनेछ । ओलीलाई झस्काउन पनि खेमराज पौडेलको जित अनिर्वाय छ ।’

संविधान मिच्दै गएर ओली सरकारले जनताको सम्पत्तिको हक खोस्ने कार्य भइरहेको थापाले बताएका छन् । ‘निजी सम्पत्ति राख्न नपाइने गरेर कानून बनाइँदै छ । कम्युनिस्टहरुका कारण ढुकुटीमा पैसा रित्तिएको छ । एसियाली विकास बैंकबाट पैसा खुवाउन ऋण ल्याइँदै छ । यस्तै अवस्था रह्यो भने कर्मचारीलाई पनि तलव खुवाउन सकिने छैन’, नेपाली कांग्रेसका नेता थापाले भने, ‘पैत्रिक सम्पत्ति छोराछोरीको नाममा सार्ने बेला महँगो कर लगाएर त्यो सम्पत्तिलाई बेच्ने र कंगाल हुने अवस्था यो सरकारले सिर्जना गर्दै छ ।’

रविन्द्र अधिकारीसँग गणतन्त्रको आन्दोलनमा संगै हिडेको स्मरण गरेका थापाले भने, ‘स्व.रविन्द्र दाई मलाई पनि मन पर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले गणतन्त्रको आन्दोलनमा राम्रो काम गर्नभएको छ । संगै सडकमा हिँडेका थियौँ’, उनले भने, ‘सरकारमा गएपछिका कतिपय कुरामा उहाँसँग मेरा थुप्रै असहमति छन् । वाइडबडी काण्ड हुन् वा एनसेल वा त्यस्तै खालका कुरामा उहाँलाई साथ दिन सकिँदैन ।’

सामाजिक सञ्जाललाई कडाइ गर्न विधेयक ल्याएको भनदै थापाले भने, ‘फेसबुक वा ट्वीटरमा तपाईले प्रधानमन्त्री वा सरकारका कसैको पनि आलोचना गर्नुभयो भने तपाईलाई प्रहरीले पक्राउ गरेर थुन्नेछ । पाँच वर्ष कैद र १५ लाख जरिवाना लगाउनेछ । हो यो कानून ल्याउन सरकारले विधेयक संसदमा दर्ता गराएको छ । अहिलेसम्म त हामीले रोकेका थियौँ । अब संसद चल्नेवित्तिकै सरकारले दुईतिहाइको दम्भबाट पारित गराउनेछ ।’

खेमराज पौडेलले जित्दैमा नेपाली कांग्रेसलाई कुनै फरक नपर्ने बताएका युवा नेता थापाले भने, ‘खेमराज पौडेल एउटा ईमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्ति हो । उहाँले जित्दैमा कांग्रेसमा कुनै फरक पर्दैन । तर, उहाँले जित्नुभयो भने नैतिकता हराएकाहरु र सरकारमा रहेका नेकपालाई भने ठूलो तनाब हुनेछ ।’

नेकपा र उसको सरकारप्रति आक्रामक देखिएका थापाले भने, ‘मन्त्री हटाउने र बनाउनेमा हामीले गणतन्त्र ल्याएर बनाएको राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको नेताले जस्तो काम गर्नुभएको छ । ओली र प्रचण्डलाई राखेर सहमति गराउनु हुन्छ । उहाँ नेकपाको नेता हो कि राष्ट्रपति हो ? अब कोही रहनेछैन । रहनेछ भने त्यो श्री ७ विद्या भण्डारी, श्री ५ केपी ओली र श्री ३ प्रचण्ड । अरु कसैको भ्यालु छैन । सो यही निरंकुशता रोक्न पनि खेमराज पौडेलको जित अनिर्वाय छ ।’

पोखरामा शुक्रबार तरुण दल क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, तरुण दलका कोषाध्यक्ष विद्धवान गुरुङ, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, कांग्रेस नेतृ सीता गुरुङलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तरुण दलको चुनावी कार्यक्रममा पोखराका सयौँ स्थानीयहरुको सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 November 23, 6:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया