कम्युनिस्टलाई धाँधलीमा साथ दिनेहरुसँग कांग्रेसले बदला लिन्छः बालकृष्ण खाँण

पोखरा । नेपाली कांग्रेस संसदीय दलका प्रमख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले सत्ताको आडमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै सुध्रिन चेतावनी दिएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा शुक्रबार नेपाल तरुण दल क्षेत्रीय कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खाँणले नेकपालाई सत्ताको आडमा आचार संहिता उल्लंघन नगर्न सुझाव दिए । उनले निर्वाचन आयोगलाई नेकपाबाट भइरहेको आचार संहिता उल्लंघनका गतिविधि रोक्न आग्रह गरेका छन् ।

‘निर्वाचन आयोगलाई भन्न चाहन्छु । यो आयोग संवैधानिक आयोग हो । देशभरि निष्पक्ष निर्वाचन गर्ने काम आयोगको हो । पक्षपात गर्ने काम भयो भने संसद अबरुद्ध हुनेछ’, चेतावनी शैलीमा प्रमुख सचेतक खाँणले भने, ‘कास्कीका निर्वाचन अधिकृत, सुरक्ष प्रमुख र प्रशासन प्रमुखले निष्पक्ष निर्वाचन गराउन् । सरकारको निर्देशनमा । प्रधानमन्त्रीको आदेशमा निर्वाचनको निष्पक्षतामा अबरोध गर्नुभयो भने नेपाली कांग्रेसले तपाईहरुलाई छाड्ने छैन ।’

उनले जनताले तिरेको करबाट तलब खानेले निर्वाचन धाँधली गर्न सत्तालाई सहयोग गरेमा नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए ।

‘सरकारलाई खुसी पार्नका लागि निर्वाचनका बेलामा कांग्रेसका कार्यकर्तालाई अबहेलित गर्ने र दुःख दिने काम गर्ने हो भने तपाईहरुले त्यसको जवाफ वर्षौसम्म दिनुपर्नेछ’, उनले चेतावनी दिँदै भनेका छन् ।

‘ठाउँठाउँबाट निर्वाचन आचार संहिता उल्लंघन भएका सिकायतहरु आएका छन् । कांग्रेसले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई भेटेर यसबारेमा भन्ने छ’, उनले भने, ‘धाँधली रहित निर्वाचन स्वीकार गर्ने छौँ । अन्यथा राजा ज्ञानेन्द्र र पञ्चायतले जसरी मूल्य चुकाए थियो त्यसै गरी मूल्य चुकाउनुपर्नेछ ।’

‘राजा महेन्द्रलाई पनि लागेको थियो अजम्बरी छु भनेर । ज्ञानेन्द्रलाई पनि लागेको थियो होला अजम्बरी छु भनेर । अधिनायकवाद लामो समयसम्म टिक्दैन’, खाँणले भने, ‘वीपीलाई सात सालमा राणाहरुले प्रधानमन्त्री बन्न पुर्पुरोमा लेख्नुपर्छ भनेर ।’

‘मोहन शम्शेर अहिले कहाँ छन् । वीपी अहिले कहाँ छन् । राणासँग सबै कुरा थियो’, नेपाली कांग्रेसका नेता खाँणले भने, ‘कांग्रेस, वीपी र नेपाली जनतालाई राणाले देखेनन् । समाप्त भए । लोकतन्त्र सकिएन, वीपी र कांग्रेस सिद्धिएन । बरु राणा सिद्धए ।’

‘हिजो पञ्चातले गणेशमान, किशुनजी, गिरिजाबाबु, कांग्रेसलाई देखेन । जनताको आकांक्षालाई देखेन । पञ्चायत नै समाप्त भयो । ‘ज्ञानेन्द्रले पनि गिरिजा, कांग्रेस र जनतालाई देखेनन् । जनताको कुरालाई बुझेनन्’, उनले भने, ‘ज्ञानेन्द्रले प्रजातन्त्र सिद्धाउन सकेनन् । गिरिजाबाबुलाई सिद्धाउन सकेनन् ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले भने, ‘आज केपी ओली त्यही पथमा छन् । जनता, कांग्रेस र लोकतन्त्रलाई ओलीले देखेका छैनन्’, उनले भने, ‘ओलीजीले चाहँदैमा नेपाली कांग्रेस सकिदैन । अब सिद्धिने पालो ओली र नेकपाको आएको छ ।’

नेपाली कांग्रेस जनताको अधिकारका लागि सधैँ लड्न तयार रहेको बताए । ‘कांग्रेस कमजोर हुँदा कालापानी र लिपुलेक भारतले लगेको छ’, उनले भने, ‘दक्षिण मात्रै होइन उत्तरी सीमा पनि मिचिदै छ । नेपालको राष्ट्रियता कमजोर हुँदै छ ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले करमाथि कर लगाएर जनतालाई दुःख दिएको उनले बताए । ‘गाउँबाट कुखुराको भालेमा कर लगाइएको छ । एक भारी सागमा पनि कर लगाइएको छ’, उनले भने, ‘पैतृक सम्पत्ति आफ्नो नाममा ल्याउँदा पनि कम्युनिस्ट सरकारले अकुत कर लगाउने गरेर संसदमा विधेयक ल्याउँदै छ । अब निजी सम्पत्ति भन्ने नै हुनेछैन ।’

नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका खेमराज पौडेललाई पार्टीभन्दा माथि उठेर रुखमा भोट हालेर विजयी बनाउन खाँणले अपील गरेका छन् ।

उनले वाइडबडीमा अर्बौंको घोटाला गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । खाँणले वाइडबडी घोटालाको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्ने बताएका छन् ।

‘पर्यटन मन्त्रालयमा वाइडबडीमा अनियमितता भयोभन्दा रविन्द्र अधिकारीले झिनामसिना कुराको जवाफ दिन्न भनेर पत्रकारको माइक फालेका थिए’, उनले भने, ‘माइक फाल्दैमा हुँदैन । पूर्वमन्त्री रविन्द्र अधिकारीको निधन हुँदा पनि भ्रष्टाचार मुद्धामा निजी सम्पत्तिबाट काटेर राज्यले असुलउपर गरेको थियो ।’

नेपाली कांग्रेसका नेता खाँणले ओलीले संविधान धुजाधुजा बनाएको बताए । ‘सूर्यलाई भोट हाल्नुभनेको जनताले लेखेको संविधान च्यात्नु हो’, उनले भनेका छन् ।

‘प्रेसलाई संकुचन गर्न विधेयक ल्याइएको छ । ओलीजी मानवअधिकार आयोगलाई कमजोर बनाएर आफ्नो वकिलको मातहत राख्न चाहनुहुन्छ’, उनले भने, ‘नागरिकको सम्पत्ति हुन्छ । त्यो सम्पत्तिको अधिकार पनि खोस्न कानून बनाइँदै छ । यो लोकतान्त्रिक मूल अधिकार हो । सम्पत्ति । व्यक्तिगत सम्पत्तिलाई सरकारी करण गर्ने विधेयक ल्याइरहेका छन् । संविधानले दिएको मौलिक अधिकारलाई पनि कुल्चन काम भएको छ ।’

Published : Friday, 2019 November 22, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया