वाइडबडीको पैसा खानेहरुलाई भोट नदिनुस्ः रामहरि खतिवडा

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संसद सचिवालयभित्रै सभामुखले चेलीहरुको बलात्कार गर्ने कम्युनिस्टलाई भोट नदिन अपील गरेका छन् ।

नेपाल तरुण दल कास्की क्षेत्र नम्बर २ ले पोखराको वाईचोकमा शुक्रबार आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले चेलीबेटीहरुको अस्मिता लुट्नेलाई भोट नभई दण्ड दिनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता खतिवडाले तत्कालीन समयमा लेखा समितिमा एनसेलनको फोर जी काण्ड र कर छुटका बारेमा गरिएको निर्णयलाई विकास समितिका सभापतिले चोरबाटोबाट अनुमति दिएको बताए ।

विकास समितिको तत्कालीन सभापति रविन्द्र अधिकारी थिए । कर नतिरेको एनसेललाई फोरजीको अनुमति नदिन लेखा समितिले निर्णय गरेर निर्देशन दिएको थियो । तर, विकास समितिबाट तत्कालीन सभापति अधिकारीले नै एनसेललाई फोरजीको अनुमति दिएका थिए ।

खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार भएपछि देशमा भ्रष्टाचार, अनियमितताले सीमा नाघेको बताए ।

‘३३ केजी सुन मात्रै होइन । वाइडबडीमा साढे चार अर्ब भ्रष्टाचार भएको छ । त्यही पैसाले जनताको भोट माग्न आएका छन्’, उनले भने, ‘त्यसलाई तपाईहरुले हराइदिनुस् ।’ खतिवडाले खेमराज पौडेललाई ईमान्दार र योग्य उम्मेदवार भएको बताउँदै जिताएर पठाउन अपील गरे ।

‘मतदान र कन्यादान गर्दा विचार गरेर गर्नुपर्छ । अन्यथा आफैलाई दुःख हुन्छ । कमयुनिस्टहरु भोट माग्न आएका छन्’, उनले भने, ‘कम्युनिस्टहरुको मीठा कुरामा नभुल्नु होला ।’

‘माधव नेपालजी तपाई आफ्नै आमाको निधन हुँदा किरिया बस्न नसकेर प्रधानमन्त्री बन्न कालो कोट र दौरा सुरुवाल लगाएर दौडनुभयो । कम्युनिस्टलाई भोट दिन सकिदैन’, खतिवडाले भने, ‘रविन्द्र अधिकारी स्वर्गवास हुनुभयो । अधिकारीको १३ दिनको किरिया नगर्नेले कसरी कास्कीका जनताको मतको कदर गर्न सक्छ ? कम्युनिस्टहरु फेरि पनि ढाँट्न आउन सक्छन् । उनीहरुको मीठा कुरामा नलाग्नु होला ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले भारतले कालापानी र लिपुलेकको नक्सालाई आफ्नो देशभित्र पार्दा पनि प्रधानमन्त्री खड्गप्रसाद ओली बालुवाटारबाट बाहिर निस्कन सक्नुभएन ।’

Published : Friday, 2019 November 22, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया