कम्युनिस्टले ल्याएको अध्यादेश कांग्रेसले शक्ति लगाएर रोक्छः बालकृष्ण खाँण

पोखरा । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक परिषदको व्यवस्था र ऐनलाई संशोधन गर्न ल्याइएको अध्यायदेशको विरोध गरेका छन् ।

नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरुको डेमोक्रेट लयर्स एसोसिएसनको ३०औं स्थापना दिवसका अवसरमा पोखरामा बिहीबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले ल्याएको अध्यादेशलाई पारित गर्ने बेला संसदमा नेपाली कांग्रेसले अबरोध गर्ने चेतावनी दिए ।

‘यो सरकार संवैधानिक परिषदको व्यवस्था र ऐनलाई अध्यायदेशबाट संशोधन गरेर अगाडि बढेको छ । संवैधानिक परिषद सबैको सहमतिबाट बने हो’, उनले भने, ‘सहमतिकै आधारमा यो प्रबन्ध बनाइएको हो । यसलाई भत्काउन अध्यादेश ल्याइयो । संविधान र कानून विपरित ल्याइएको छ । नेपाली कांग्रेसले यसलाई सदनमा पास गर्ने बेला रोक्न सम्पूर्ण शक्ति प्रयोग गर्नेछ ।’

नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले शक्ति शन्तुलन मिलाएको उनले बताए । ‘संविधान कार्यान्वयन गर्ने भनेर निर्वाचन सम्पन्न भयो । नेकपाको सरकार बनेको छ’, उनले भने, ‘नेकपाबाट निर्वाचनका बेला भएको प्रतिवद्धता पूरा भएको छैन । संविधान र विधिको शासन उल्लंघन भएको छ । संविधानको प्रतिकूलतामा खड्गप्रसाद ओलीको सरकारले विधेयकहरु प्रस्तुत गरेको छ ।’

नेपाली कांग्रेसले संविधानले दिएको अधिकारी विपरित दर्ता भएका विधेयकहरुको विरोध गरेको प्रमुख सचेतक खाँणले बताए ।

‘मिडिया काउन्सिल लगायत प्रेसलाई संकुचित गर्ने विधेयक संसदमा प्रस्तुत भएको छ । सरकारले ल्याएको मानवअधिकार विधेयक संविधान विपरित छ’, उनले भने, ‘नागरिकको सम्पत्तिको अधिकार विधेयक संविधानको प्रतिकूल विपरित आएको छ । नेपाली कांग्रेसका कतिपय कमीकमजोरी छ । यसलाई सुधार गरेर लैजानुपर्छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले कोकाकोला विश्वस्तरीय कम्पनी भएको भन्दै त्यसले आफ्नो प्रचारका लागि बनाएको प्रचार सामाग्रीले कोकाकोलाको विश्वस्तरीय ब्राण्ड बनेको बताए ।

‘अहिले चिसो भनेकै कोकाकाला भन्छन् । विज्ञापनको नारा छ । जुन दिन कोकाकोलाले पेप्यसीको विज्ञापन गर्छ । त्यस दिन कोकाकोला डुब्छ’, उनले भने, ‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसको प्रचार गर्ने हो । सबैले कांग्रेसको प्रचार गर्ने हो भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

‘पार्टी नेतृत्व र नेता तथा कार्यकर्ताले सुधार गर्ने के हो त्यसमा ध्यान दिनुपर्छ । पार्टीको विधान कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘संविधानअनुसार प्रजातन्त्र चल्नुपर्ने तर, हाम्रो पार्टी सर्वसम्मत रुपमा चल्नुपर्ने यसरी पार्टी चल्दैन । लोकतन्त्रको रक्षा गर्न सकिदैन । नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्नेछ ।’

नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले पार्टी बलियो बनाउन सबै मिल्नुपर्ने बताए । उनले कांग्रेसलाई विधि र पद्धतिबाट चलाउन सुझाव दिए । नेपाली कांग्रेसका लागि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरुले पार्टीमा ठूलो योगदान गरेको भन्दै रानाभाटले कम्युनिस्टहरु कहिल्यै पनि लोकतन्त्रवादी हुन नसक्ने बताए ।

नेपाली कांग्रेस कास्कीका नेता देवराज चालिसेले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार खेमराज पौडेलले जित्ने बताए । उनले कांग्रेसका उम्मेदवार पौडेल स्थानीयस्तरमा राम्रो रहेको भन्दै प्रचार प्रसारमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष, पदाधिकारीसहित प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 November 22, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया