कम्युनिस्टको गढमा गगनले मागे भोट, भक्तपुरमा कांग्रेसको पक्षमा जनलहर

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरद्वारा चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबारको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, गगन थापा, डिला संग्रौला, कमला पन्त, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काभ्रे कांग्रेसका सभापति मधु आचार्य लगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्य, शुभेच्छुक, स्थानीयबासीहरूको उपस्थिती रहेको थियो ।

घरदैलो कार्यक्रमका दौरान आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार संविधानले दिएको जनताको अधिकार खोस्ने काममा तल्लिन रहेको आरोप लगाए ।

जनता कुनै पनि पार्टीका हली नभएको भन्दै उपनिर्वाचनमार्फत दुईतिहाई कम्युनिस्ट सरकारले गरेका कामको मूल्यांकन गर्ने बताए ।

‘यो उपनिर्वाचनको विजय पराजयले नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसलाई संख्यात्मक रुपमा प्रतिनिधिको संख्या थपघट मात्र हुने’, उनले भने, ‘सरकारलाई दिने सन्देशका लागि यो निर्वाचनको परिणामले महत्वपूर्ण अर्थ राख्छ ।’

उनले जनतालाई विकास र समृद्धिको खोक्रो नारा दिएर अगाडि बढेको दुईतिहाइको कम्युनिस्ट सरकारलाई सच्याउनको लागि रुख चिन्हमा भोट दिएर नेपाली कांग्रेसलाई जिताउन अनुरोध गरेका छन् ।

युवा नेता थापाले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्ने हैसियत बनाइदिएको बताए । उनले तत्कालीन माओवादीका क्रियाकलापलाई जनताले माफ गरेपनि नबिर्सिएको उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिस्ट सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए ।

उनले अहिलेको उपनिर्वाचन भनेको महँगी, कर, बलात्कार, कुशासन, भ्रष्टाचार, अधिनायकवादविरुद्धको लडाइँ भएको भन्दै भक्तपुरका जनतालाई आफ्नो विवेक प्रयोग गरेर प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेललाई मतदान गर्न अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले नेपाली कांग्रेसले पैसा बाडेको अफबाह फैलाउने गरेको भन्दै भित्री रुपमा आफै सरकार र शक्तिको दुरुपयोग गरी पैसा बाड्दै हिँडेको आरोप लगाए ।

नेपाली कांग्रेसले भक्तपुरको क्षेत्र नम्बर १ ‘क’मा कृष्णलाल भँडेललाई उम्मेदवार बनाएको छ ।

भँडेलकी आमा सेतीदेवी भँडेलको मंसिर १ गते देहावसन भएकोले उम्मेदवार बिनानै नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मंसिर ५ गते नगरकोटको गडगडेबाट नेपाली कांग्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा घरदैलो कार्यक्रम हुनेछ ।

मंसिर ११ गते निर्वाचन प्रचार प्रसारको अन्तिम दिन चँगुनारायाण नगरपालिकाको वडा नम्बर १, दुवाकोट न्यौपाने गाँउमा दिनको १ बजे बृहत आमसभा गरिनेछ ।

सभामा नेपाली कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रीय सचिव एवम् निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए ।  

Published : Wednesday, 2019 November 20, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया