‘आईजीपी काण्डवाला’ सिलवालले मागे गृह मन्त्री

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद नवराज सिलावलले गृहमन्त्रालयको दाबी गरेका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बुधबार मन्त्रिपरिषदमा केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने तयारी गरिरहेका बेला सिलवालले पनि शक्ति केन्द्र धाएका हुन् ।

स्रोतका अनुसार सिलवालले तत्कालीन एमाले प्रवेश गर्दाको स्मरण प्रधानमन्त्री ओलीका आसेपासेहरूलाई सुनाएका छन् ।

प्रतिनिधि सभाको निर्वाचन अगाडि तत्कालीन एमालेमा प्रवेश गर्ने बेला सिलवाललाई पार्टीमा भित्र्याउँदै गर्दा ओलीले गृहमन्त्री बनाउने आश्वासन दिएका थिए ।

ओलीको सोही आश्वासनलाई नेकपाका सांसद सिलवालले निकटका व्यक्तिहरूलाई स्मरण गराएका हुन् ।

‘नवराज सिलवालजीले गृहमन्त्रालय माग्नुभएको छ । त्यो नभएमा अन्य कुनै राम्रो मन्त्रालय दिएपनि हुन्छ भन्नु भएको छ’, स्रोतले भन्यो, ‘उहाँ जत्तिको सांसदलाई मन्त्री बनाउँदा उपयुक्त हुन्छ ।’

सिलवाललाई गृहमन्त्रालय दिनका लागि ओलीले रामबहादुर थापालाई हटाउनुपर्ने हुन्छ । गृह मन्त्री सम्भव नभएपनि सिलवाललाई गृह राज्यमन्त्री बनाउन एकथरीले दवाव दिएको स्रोतले जनाएको छ ।

तत्कालीन समयमा डीआईजी भएका बेला सिलवालले आईजीपी बन्न कीर्ते गरेको अभियोग लागेको छ । उनीविरुद्धको मुद्धा सरकारी वकिलको कार्यालयमा फाइल थन्किएर बसेको छ । उनीविरुद्धको कीर्ते मुद्धा कुनै पनि बेला चल्न सक्छ ।

नेपाली कांग्रेसका रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई १२ वर्षपछि मुद्धा चले जस्तै सिलवाललाई पनि कीर्ते काण्डमा कुनै पनि बेला मुद्धा चल्न सक्ने नेकपाकै एक नेताले बताए ।

सिलवालले नेपाली कांग्रेसका कारण आफू आईजीपी बन्न नपाएको झोँक त्यस बेला नै सार्वजनिक गरेका थिए ।

Published : Wednesday, 2019 November 20, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया