यी कम्युनिस्ट मन्त्रीहरू हटाइँदै, ‘बुहारी’ मन्त्री यथावत रहने

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले फेरिने नयाँ मन्त्रीहरूको सूची तयार पारेका छन् ।

ओलीले ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा रहेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलालाई बुधबार बिहान बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा ०७४ फागुन ३ मा सरकार गठन गरेका थिए ।

ओलीले ०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए ।

आफ्नो अभिव्यक्तिका कारण विवादमा आएका तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ ।

पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन नभएको स्रोतले जनाएको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी खानेपानीमन्त्री विना मगरलाई भने नहटाउन दवाव परेको छ । दाहालले बुहारीकापक्षमा अडान लिएको स्रोतको दाबी छ ।

Published : Wednesday, 2019 November 20, 7:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया