दाङले कम्युनिस्ट उत्तराधिकारीको व्यवस्था तोड्नुपर्छः केशव आचार्य

घोराही । नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर ३ ‘ख’का उम्मेदवार केशव आचार्यले उपनिर्वाचनमा जनताले लोकतान्त्रिक शक्तिलाई विजयी बनाउने बताएका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. ७ को दुविचौरमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूबाट आजित बनेका जनताले आफूलाई मतदान गर्ने बताए । उनले लोकतान्त्रिक शक्तिको जित सुनिश्चित जस्तै रहेको बताए ।

नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार आचार्यले राजनीतिमा परिवारभित्रैबाट उत्तराधिकारी बनाउने परम्परालाई अब दाङका जनताले अस्वीकार गर्नुपर्ने बताए ।

‘राजनीतिमा घरभित्रैबाट उत्तराधिकारी हुनु हुँदैन । पार्टीमा संघर्ष गरेका ईमान्दार कार्यकर्ताहरू पनि हुन्छन् । उनीहरूलाई अवसर दिनुपर्छ’, उनले भने, ‘दाङले यो परम्परालाई भत्काएर राजनीतिमार्फत जनताको परिवर्तन सोँच्ने र प्रजातन्त्रका लागि लड्नेहरूलाई भोट दिनुपर्छ ।’

आचार्यले जनतालाई कांग्रेस र कम्युनिस्टमा हुने भिन्नताका बारेमा जनतालाई जानकारी गराउन आग्रह गरेका छन् ।

‘तपाईहरू मंसिर १४ गतेसम्म नेपाली कांग्रेसको पक्षमा माहोल निर्माण गर्न खटिनुहोस्’, आचार्यले भने, ‘त्यसपछि म निर्वाचित भएपछि तपाईहरूको सेवाको लागि खटिनेछु ।’

नेपाली कांग्रेसको पक्षमा जनलहर देखेर कम्युनिष्टहरू अत्तालिएको भन्दै आचार्यले कांग्रेसजनहरू स्वच्छ, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न खटिनुपर्ने बताए ।

‘कम्युनिष्टहरू चुनाव हारिने निश्चित भएपछि विचलित भएका छन् । आत्तिएका छन्’, नेपाली कांग्रेसका उम्मेदवार आचार्यले भने, ‘यस्तो अवस्थामा कांग्रेसका कार्यकर्ताहरू अनुशासन र धैर्यता पूर्वक आफ्नो मतको रक्षामा लाग्न जुरुरी हुनेछ ।’

नेपाली कांग्रेसविना दाङको विकास र संवृद्धि संभव नभएको उनले बताए ।

आचार्यले कम्युनिष्ट सरकारले जनतामाथि करमाथि कर थोपरेर कम्युनिस्ट नेताहरू सुख सयलको जीवन व्यथित गर्न लागेको आरोप लगाए ।

अहिलेसम्मका हरेक परिवर्तन र विकास निर्माण कांग्रेसकै कारण संभव भएको बताएका उनले दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार देखेर जनता निराश भइसकेको बताए ।

हिजोका दिनमा जनता झुक्काएर चुनाव जितेका कम्युनिष्टहरूले बाँडेका आश्वासन र सपना पूरा गर्नतर्फ कुनै भूमिका नखेलेको उनले बताए ।

‘कांग्रेस जे भन्छ त्यही गर्छ, जनता झुक्याउँदैन’, आचार्यले भने, ‘यो देशको विकास र संवृद्धि कांग्रेसविना संभव छैन । आज हरेक सचेत जनताले बुझीसकेका छन् ।’

उनले आफूलाई निर्वाचित बनाएर समग्र पश्चिम दाङको विकासका लागि ईमान्दारीपूर्वक भूमिका खेल्ने आश्वासन दिएका छन् ।

आचार्यको पक्षमा प्रचार प्रसारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, पूर्वसांसदद्वय गेहेन्द्र गिरी र योगेन्द्र चौधरीसहितका नेताहरू मंगलबार खटिएका थिए ।

Published : Tuesday, 2019 November 19, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया