भक्तपुरमा राणाले भित्र्याए युवाहरू, कम्युनिस्टको गढमा प्रचार गर्न आउँदै गगन थापा

ताथली । उपनिर्वाचनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस भक्तपुरद्वारा चाँगुनारायण नगरपालिका वडा नम्बर ९, ताथलीमा घरदैलो गरेको छ ।

घरदैलो कार्यक्रमअन्तर्गत आयोजित कोण सभामा मन्तव्य राख्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बुढीगण्डकी आयोजनाको लागि पेट्रोलियम पदार्थबाट अतिरिक्त शुल्क लिएर खडा गरिएको कोषबाट नेपाल आफैले निर्माण गर्ने भनिएको आयोजना खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बिना प्रतिस्पर्धा चाइनिज कम्पनीलाई दिएको आरोप लगाए । उनले ओली सरकार कमिशन र भ्रष्टाचारमा लिप्त रहेको कुरा प्रमाणित गरेको बताए ।

उनले हिजोका दिनमा निर्वाचनअघि जनताका बीच गरेका कुनै पनि बाचा पूरा गर्न नसकेको सरकारले नेपाली कांग्रेसको पालामा शुरु गरिएका आयोजनाहरूको जस लिन खोजेका आरोप लगाए ।

कोण सभामा नेपाली कांग्रेसका युवा नेता एवं पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले महँगी, कर, बलात्कार, भ्रष्टाचार, अधिनायकवादवादलाई बढावा दिइरहेको सरकारलाई सर्तक र सजग गराउनको लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले पछिल्लो २ वर्षमा गरेका गतिविधिहरूबाट जनताहरू खुशी नभएकोले यो उपनिर्वाचनमा नेपाली कांग्रेसलाई कम्युनिष्टहरूले समेत मत दिएर जिताउने बताए ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माताको स्वर्गारोहण भएकोले उनको अनुपस्थितिमा सम्पूर्ण कार्यकर्ताहरूले आफूलाई नै उम्मेदवारको रुपमा अगाडि सारेर जनताको घरदैलोमा मत माग्न जानको लागि पनि अनुरोध गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका बिक्रम खत्री र निरञ्जन थापालाई युवा नेता राणाले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

तथालीका नेपाली कांग्रेसका वडा सभापति पुष्कर खत्रीको सभापतित्वमा संचालित कोण सभामा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य रमा पौडेल, नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरू जीवन खत्री, नारायण खयमली लगायत जिल्लाका पदाधिकारी, सदस्यहरू, शुभचिन्तक तथा आम जनसमुदायको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस उप निर्वाचन प्रदेश सभा १ ‘क’ भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माता सेतीदेवी भँडेलको मंसिर १ गते देहावसन भएकोले उम्मेदवार बिनानै नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको निर्वाचन परिचालन समिति संयोजक एवम् क्षेत्रीय सचिव उद्धव खड्काले बताए ।

उनले मंसिर ४ गते बुधबारका दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा चँगुनारायण नगरपालिका वडा नम्बर ७, बागेश्वरीमा घरदैलो कार्यक्रम संचालन गरिने बताए ।

Published : Tuesday, 2019 November 19, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया