कम्युनिस्ट अधिनायकवाद उन्मूलन गर्ने बेला आयो, तरुण तयार रहनुस्ः अध्यक्ष बस्नेत

फुङलिङ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कारण लोकतन्त्र खतरामा परेको भन्दै नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्ने दायित्व तरुणहरूको काँधमा आएको बताएका छन् ।

नेपाल तरुण दल ताप्लेजुङ कार्यसमितिले सोमबार फुङलिङमा आयोजना गरेको भटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले ०६२–०६३को जनआन्दोलनबाट आएको उपलब्धिमाथि कम्युनिस्टहरूका कारण खतरा उत्पन्न भएको बताए ।

लोकतन्त्रका आधारस्तम्भहरूलाई कम्युनिस्ट सरकारले भत्काउन शुरुवात गरेको भन्दै बस्नेतले आन्दोलनका लागि तयार रहन निर्देशन दिए ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान ल्याएका हौँ’, उनले भने, ‘उपलब्धिको रक्षा गर्नुको साटो दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट खतरा उत्पन्न भएको छ । संविधानको जग भत्काउने कार्यहरू भइरहेका छन् ।’

उनले देशभरिका तरुणहरूले कम्युनिस्टहरूको अधिनायकवादलाई उन्मूलन गर्ने अभियानमा लाग्न निर्देशन दिए ।

तरुणहरूको ताकतबाट डराएको कम्युनिस्ट सरकारले प्रहरी प्रशासनलाई लगाएर देशभरिका तरुणहरूलाई दुःख दिने कार्य गरिरहेको भन्दै अध्यक्ष बस्नेतले यस्ता हर्कतहरूलाई रोक्न चेतावनी दिए । उनले तरुणहरूको संयमतालाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका छन् ।

अध्यक्ष बस्नेतले बाँकेमा प्रहरीको स्थानीय नेतृत्वले तरुणहरूलाई झुठ्ठा मुद्धा लगाएर दुःख दिनुका साथै आतंकित बनाउने कार्य गरेको बताए । उनले तरुणहरूलाई नचलाउन बाँके प्रहरीलाई सुझाव दिए । अन्यथा परिणाम गम्भीर आउन सक्ने बस्नेतको चेतावनी थियो ।

नेपाल तरुण दल ताप्लेजुङका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टहरूका कारण जिल्लामा धेरै समस्याहरू उत्पन्न भइरहेको भन्दै गुनासाहरू गरेका थिए ।

उनीहरूले कम्युनिस्ट अधिनायकवाद अन्त्यका लागि हुने कुनै पनि आन्दोलनका लागि आफूहरू केन्द्रको निर्देशन पर्खेर बसेको बताएका थिए ।

पाँचथर जिल्लाको कार्यक्रममा सहभागी हुन आइतबार फिदिम आइपुगेका तरुण दलका अध्यक्ष बस्नेत सोमबार ताप्लेजुङको सदरमुकाम फिदिम आइपुगेका हुन् ।

बस्नेतलाई सयौँको संख्यामा रहेका तरुणले मोटरसाइकलबाट स्कर्टिङ गरेर सदरमुकाम फुङलिङसम्म ल्याएका थिए ।

Published : Monday, 2019 November 11, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया