हेटौँडामा कांग्रेसको प्रशिक्षण, कम्युनिस्ट सरकारको समीक्षा हुने

हेटौँडा । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको भेला तथा प्रशिक्षण हेटौंडामा हुने भएको छ ।

प्रदेश ३ अन्तर्गत् ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको भेला मंगलबार र बुधबार हेटौंडामा हुने भएको हो ।

भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको बानियाँले बताए ।

यसअघि सात जिल्लाका भेला भक्तपुरमा सम्पन्न भइसकेको छ ।

भेलाको उद्घाटनमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरू समेत हेटौंडा आउने बताइएको छ ।

हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणको सम्पूर्ण तयारी सम्पन्न भइसकेको र महाधिवेशन प्रतिनिधिहर हेटौंडा आउने क्रम शुरु भइसकेको सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

भेला तथा प्रशिक्षणमा ३ नम्बर प्रदेशअन्तर्गतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ ।

प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरूको सहभागिता रहनेछ ।

सहभागीलाई प्रतिष्ठानका प्रमुख निधी, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्षहरू डा.गोविन्द पोखरेल, डा.जगदीशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्यहरू डा.आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसका नेता बानियाँले दुई तिहाई नेतृत्वको कम्युनिस्ट सरकार ठीकढंगले अगाडि बढेको छ वा छैन भन्ने विषयको समीक्षा भेला तथा प्रशिक्षणमा हुने बताए ।

Published : Monday, 2019 November 11, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया