तरुणको गर्जनले खसी माग्ने डीएसपीलाई तनाव, बाँके प्रहरीलाई अल्टिमेटम (तस्वीर)

नेपालगञ्ज । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आक्रामक बन्दै आएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल बाँकेले प्रहरी ज्यादतीविरुद्ध नेपालगञ्जमा भव्य प्रदर्शन गरेको छ ।

बाँके तरुणको नेतृत्वमा नेपाली कांग्रेस बाँके र भ्रातृ संस्थाहरूको सहभागितामा हजारौँ नेता तथा कार्यकर्ताले सोमबार नेपालगञ्जमा प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार र बाँके प्रहरीका प्रमुख एसपी वीरबहादुर ओली र ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीविरुद्ध नारावाजी गर्दै नगरपरिक्रमा गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठौर, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, बाँके कांग्रेसकी सभापति किरण कोइराला, तरुण दल बाँकेका अध्यक्ष वीरेन्दबहादुर शाहको नेतृत्वमा नेपालगञ्जमा प्रहरीको जादतीविरुद्ध भव्य प्रदर्शन भएको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको तरुण दलको प्रदर्शन जिल्ला प्रशासन कार्यालय नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दल नेता सुरेन्द्र पाण्डेले जनताको कर खाएर शान्ति सुरक्षा गर्न बसेको प्रहरीबाटै नागरिकलाई खतरा हुने समय आएको भन्दै चिन्ता जनाए ।

‘दशैँमा खसी माग्ने, खसी नपाएपछि तिघ्रा छेड्ने धम्की दिने, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई छानीछानी झुठ्ठा मुद्धा लगाएर फसाउने’, उनले चेतावनी शैलीमा भने, ‘जनतालाई शान्ति सुरक्षा दिन नसक्ने प्रहरीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

नेपाली कांग्रेसका नेता केसी दोषी प्रहरीका हाकिमहरूलाई कारबाहीको माग गर्दै पक्राउ परेका तरुणहरूलाई विनासर्त रिहाइको माग गरेका छन् । अन्यथा ती प्रहरीले ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँले बिहीबारसम्म डीएसपी हेमबहादुर शाहीको सरुवा नभए देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

‘हेमबहादुर शाहीको सरुवा हुनुपर्छ’, उनले भने, ‘निर्दोष तरुणलाई झुठ्ठा मुद्धा लगाएर फसाउन खोज्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

उपाध्यक्ष चापागाइँले तरुण दलको लचकतालाई बाँके प्रहरीले कामजोरीका रुपमा लिएको बताए । ‘तरुण दलको संयमतालाई कमजोरीका रुपमा नलिइयोस्’, उनले चेतावनीयुक्त शैलीमा भने, ‘यदि डीएसपी हेमबहादुर शाहीलाई कारबाही भएन भने तरुण दल चुप लागेर बस्ने छैन । देश व्यापी आन्दोलन हुनेछ । त्यसबाट क–कसलाई नोक्सानी हुनेछ त्यसै बेला थाहा हुनेछ ।’

कम्युनिस्ट सत्ताको आडमा प्रहरीलाई ‘नेकपा प्रहरी’ नबन्न उपाध्यक्ष चापागाइँले चेतावनी दिए । ‘प्रहरी जनताको शान्ति सुरक्षाका लागि प्रहरी बनेर बस्नुपर्छ’, उनले भने, ‘प्रहरी नेकपा बन्ने होइन ।’

तरुण नेताहरूसँग दशैँमा खसी माग्ने, खसी नपाएपछि तिघ्रा छेड्ने धम्की दिने, झुठ्ठा मुद्धामा फसाउन खोज्ने, हतियार बरामदको बहानामा नेपाल तरुण दल नेपालगञ्ज नगर समितिका अध्यक्ष सन्दीपजंग शाहसहितका नेताहरूलाई पक्राउ गर्ने लगायतका गतिविधि भएपछि नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको निर्देशनमा बाँके तरुणले प्रदर्शन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओली र ईलाका प्रहरी कार्यालय, कोहलपुरका नायब उपरीक्षक हेमबहादुर शाहीले तरुणमाथि ज्यादती गरेपछि बाध्य भएर सडकमा उत्रिएको बाँके तरुण दलका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई नेतालाई हतियारसहित नियन्त्रणमा लिएको विरुद्ध तरुण दलले विरोध प्रदर्शन गर्दै आएको छ ।

तरुण दलका नेताहरूलाई जालझेल गरेर फसाउन थालेको भन्दै तरुण दलले प्रहरीको ज्यादतीविरुद्ध विरोध तथा प्रदर्शन गरेको जनाइएको छ ।

नेपाल तरुण दलले सन्दीपजंग शाहको गाडीमा हतियार राखेर प्रहरीले नै फसाएको भन्दै तरुण दलले सत्यतथ्य छानविनको माग गर्दै आएको छ ।

हतियार तरुण नेताहरूको नभएको र प्रहरीले आफ्नै हतियार राखेर झुठ्ठा मुद्दामा फसाएको तरूण दलको भनाइ छ ।

कोहलपुर प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले दशैंमा खसी मागेको तर, नदिएको झोँकमा तरुण नेताहरूको साथबाट हतियार बरामद भएको भनेर झुठ्ठा मुद्दामा फसाएको तरुण दलले बताउँदै आएको छ ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले १४ कात्तिकमा जानकी गाउँपालिका ६, गनापुरस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

दशैँमा डीएसपी शाहीले मागेअनुसार खसी उपहार नदिएपछि आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला कोषाध्यक्ष केशरबहादुर खड्काले कात्तिक १७ गते राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।

Published : Monday, 2019 November 11, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया