दाङमा कांग्रेसको पक्षमा माहोल बढ्यो, नेकपाका थुप्रै कार्यकर्ताले पार्टी छाडेर कांग्रेस राेजे

सुरेश श्रेष्ठ

तुलसीपुर । मसिर १४ को उपनिर्वाचन नजिकिएसंगै दाङ जिल्लामा चुनावी माहोल एकाएक तातेको छ ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’मा हुन गइरहेको निर्वाचनमा आ–आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरूलाई भ्याई नभ्याई भएको छ ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुराना, त्यागी र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि कांग्रेसको पक्षमा सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन् ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले यस पटकको उपनिर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौँ ।’

सभापति खड्काले भने, ‘नेपाली कांग्रेसले पश्चिम दाङमा यस पटक पाको, मेहनती र विकासको भिजन सहित गाउँ गाउमा भिजेको नेतालाई उम्मेदवार बनाएको छ । हाम्रो जित सुनिश्चित छ ।’

आइतबार नेपाली कांग्रेसले पश्चिम दाङको शान्ति नगर गाउँपालिकास्थित जुम्लेकुला र एकलीमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सप्पन्न गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले दुईतिहाईको बलियो कम्युनिस्ट सरकार अब केही समयमा छिन्नभिन्न हुन लागेको बताए ।

गिरीले भने, ‘जनतालाई ठूलो सपना देखाएर भोट माग्ने तर, सरकारमा गइसकेपछि नातागोता र कार्यकर्तालाई मात्रै भरणपोषण गर्ने नियत अब नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् । कम्युनिस्टहरूका कुरा जनताले जानेका छन् ।’

नेता गिरीले नेपाली कांग्रेसको पालामा पश्चिम दाङको सिचाइँ, बाटो, नहर, पुल पुलेसा र समग्रमा विकासको बहार ल्याएको दाबी गरे ।

उनले विकास निर्माणका कार्य जनताको जीवनस्तरमा परिवर्तनको अनुभूति गराउन नेपाली कांग्रेसले जित्नै पर्ने बताए ।

सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार केशव आचार्यले आफू लामो राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्न सबैमा आह्वान गरेका छन् ।

‘म कुराभन्दा काम गरेर देखाउन आतुर छु’, उनले भने, ‘मलाई नेपाली कांग्रेस मात्रै होइन अन्य ठूला र साना पार्टीका मतदाताहरूको पनि सहयोग चाहिन्छ । सबैको माया पाएँ भने जित्नेछु । मेरो क्षेत्रमा विकास ल्याउनेछु ।’

नेपाली कांग्रेस दाङका पूर्वसभापति घनश्याम रेग्मी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, महासमिति सदस्य खिमप्रसाद खराल लगायतले चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

चुनावी कार्यक्रममा दाङ कांग्रेसका नेता, नेविसंघ, नेपाल तरुण दल, नेपाल प्रेस युनियन लगायत दर्जनका भ्रातृ संगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियोे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा तीन दर्जन युवा तथा स्थानीय किसानहरू प्रवेश गरेका थिए । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेसका ईकाइ सभापति चेतबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव चुडामणि ढकालले गरेका थिए ।

 

Published : Monday, 2019 November 11, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया