कांग्रेसको चारतारे झण्डाको जित भक्तपुरबाट हुन्छः विश्वप्रकाश शर्मा

भक्तपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चारतारे झण्डाको विजयको शुरुवात भक्तपुरबाट हुने बताएका छन् ।

बिहीबार उपनिर्वाचनका लागि मनोनयन दर्ता गराइसकेपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उपनिर्वाचनको खाता कांग्रेसले भक्तपुरबाट खोल्ने बताए ।

‘लेखेर राख्नु होला भक्तपुरबाट विजयको परिणाम चारतारे झण्डाको पक्षमा हुनेछ । रुख चिन्हको पक्षमा परिणाम आउनेछ’, उनले भने ।

‘यो परिणाम नेपाली कांग्रेसले जित्न जति जरुरी छ । कांग्रेसको जित भनेको नेपाली जनताको पक्षमा जानु हो’, शर्माले भने, ‘कांग्रेसले जित्नु भनेको कम्युनिस्टको पनि जित हो । यो कम्युनिस्टले जित्दा हत्या, हिंसा, अराजकता, मूल्य वृद्धि भएको छ ।’

‘सरकारको दुई वर्षको रवैया ठीक छ भने नेकपालाई भोट हाल्नुुस्, होइन भने रुखमा भोट हालौँ’, प्रवक्ता शर्माले भनेका छन्, ‘व्यापारीले भोगको कर, कर्मचारीले काम गर्न नपाएको, प्रहरीलाई पनि बद्नाम गरियो । निर्मला प्रकरणमा प्रहरीलाई बद्नाम गरियो ’

‘कम्युनिस्टको सरकार बन्दा महँगी बढ्दैन भन्ने थियो । महँगी सगमाथाको शिरमा महँगी पुगेको छ । कांग्रेसको पालामा महँगी थिएन म भन्दिन । तर, यति धेरै महँगी थिएन’, शर्माले भने, ‘बुद्धिजीवीहरूलाई भन्छु । ३३ किलो सुन कहाँ छ ? वाइड बडी घोटालाको पैसा कहाँ छ ? बालुवाटारको जग्गा कसको नाममा छ ? खोजविन गर्नुपर्छ ।’

‘कांग्रेसले एउटा सिट जित्दैमा सरकार बन्दैन । तर, सन्देश दिने हो । सरकारमा बस्नेलाई सुधार्ने हो भने कांग्रेसलाई जिताउनुपर्छ’, उनले भने, ‘ओरजिनल कम्युनिस्ट नारायणमान विजुक्छे हो । नक्कली कम्युनिस्टलाई भोट नहालौँ ।’

Published : Thursday, 2019 November 7, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया