बागलुङमा कम्युनिस्ट गठबन्धनभित्र घर्तीले गरे बिद्रोह, नेकपालाई तनाब

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ ‘ख’को मंसिर १४ उप–निर्वाचनका लागि कम्युनिस्ट गठबन्धनबाट बिद्रोह गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता गरेका छन् ।

घर्ती मगरको ढोरपाटन नगरपालिका– २ का बौद्धिक वाम युवा नेता दधिराम अर्याल प्रस्तावक र निशीखोला गाउँपालिकाका दलित युवा नेता रिमबहादुर विक समर्थक बसेका छन् ।

साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालीन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरका लागि उम्मेदवार थिए ।

उनले १४ सय बढी मत प्राप्त गरेका थिए । ०७४ मा तात्कालीन एमालेबाट सोही प्रदेशका लागि प्रस्तावित उम्मेदवार दधिराम माओवादी जनयुद्धमै सहभागी थिए । स्थानीय चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।

जनमोर्चासँग तालमेलपछि नेकपाले दधिरामलाई दवाव दिएर अन्तिम समयमा उम्मेदवार झिक्न लगाइएको थियो ।

सालिन व्यक्ति, अंग्रेजी भाषामा दख्खल भएका दधिरामलाई पार्टी एकतापछि पार्टी सदस्यताबिहीन बनाइएको छ । उनको समर्थनमा लोकप्रिय मानिने शेरमानको उम्मेदवारी दर्ता हुनुले सबैको चासो बढेको छ ।

उम्मेदवारी फिर्ता लिने गरी दर्ता गर्नुभयो ? भन्ने जिज्ञासामा शेरमानले भने, ‘दासताको विरुद्ध बिद्रोह हो । तमाम २ नम्बर क्षेत्र ‘ख’का उत्पीडित जनताको पक्षमा मेरो उम्मेदवारी हो । बिद्रोह रहरले हुँदैन, आवश्यकता हो । मेरो उम्मेदवारी कसैको दवावमा फिर्ता हुँदैन ।’

शेरमान संघीयता, समावेशी, पहिचान आन्दोलन, पश्चिम बागलुङको पक्षधर आन्दोलन र अभियानमा क्रियाशील छन् ।

Published : Thursday, 2019 November 7, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया