धुम्बाराहीतिर भावी प्रधानमन्त्रीमा पोखरेलको चर्चा, प्रचण्डलाई तनाब

काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता ईश्वर पोखरेल अगाडि देखिएपछि दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छटपटी शुरु भएको छ ।

भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका प्रचण्डलाई प्रधानमन्त्री पद पाउन त्यति सजिलो छैन । स्रोतका अनुसार उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका पोखरेललाई चीनले साथ दिएको छ ।

पार्टीमा पनि स्कूल विभागको प्रमुख रहेका पोखरेललाई चिनियाँहरूले रुचाएका छन् । चिनियाँहरूले पोखरेललाई नै भावी प्रधानमन्त्रीका रुपमा हेरेको चर्चा धुम्बाराहीतिर हुन थालेको छ ।

पोखरेल निकटका एक जना नेताले पनि पोखरेलाई नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वएमाले नेताहरूले लिएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुनु अगाडि पोखरेलले सी बिचारधारामा नेकपाले अंगाल्ने गरेर काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टीका शक्तिशाली नेताहरूलाई राखेर प्रशिक्षण नै चलाएपछि चीनले पोखरेललाई रुचाएको हो ।

पोखरेललाई चीनले रुचाएको थाहा पाएपछि प्रचण्डलाई तनाब बढ्न थालेको छ । प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा बाँकेमा दुई दिन अगाडि बोलिसकेका छन् । प्रचण्डलाई एमाले पृष्ठभूमि भएका नेताहरूले साथ दिने छाँटकाँट छैन ।

प्रचण्डलाई चीन र भारत दुबैले विश्वास गर्न सकेका छैनन् । प्रचण्डलाई अन्तर्राष्ट्रिय शक्तिहरूको साथ भएन भने प्रधानमन्त्री बन्न गाह्रो हुने चर्चा धुम्बाराहीतिर हुन थालेको छ ।

पोखरेलले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री र नेकपाको स्कूल विभागको प्रमुख भएका बेला अन्तर्राष्ट्रिय शक्तिहरूलाई पनि रिझाउने प्रयास गरिरहेका छन् । ओली निकटका पोखरेलको राजनीतिक भविष्य नेकपाभित्र उज्जवल हुँदै गएको चर्चा छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पर्ख र हेरको नीतिमा छन् । उनले मुख खोल्न चाहेका छैनन् । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीको पेलानमा परेका नेता नेपालले कसलाई साथ दिने भनेर बोलेका छैनन् ।

स्रोतका अनुसार नेता नेपाले प्रचण्डलाई भन्दा पनि एमाले पृष्ठभूमि भएकै नेताहरूलाई साथ दिन सक्ने दाबी गरिएको छ । नेता नेपाललाई पूर्वमाओवादीहरूले भन्दा पनि पूर्वएमाले नेताहरूले नै साथ दिनेछन् । अहिलेसम्मको नेकपाभित्रको राजनीतिक अवस्था हेर्दा सबै कुराहरूले पूर्वएमाले नेताहरू एक ठाउँमा आउने देखिएको छ ।

यदि पूर्वएमाले नेताहरू एक ठाउँमा आए भने सत्तारुढ नेकपा सग्लो रहनेछैन । पूर्वमाओवादी निकटका एक जना केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्मको सबै निर्णय र प्रक्रियाहरू हेर्दा पूर्वएमालेहरूले नै पूर्वमाओवादीलाई पेल्दै आएको देखिएको छ । भविष्यमा पनि यस्तै अवस्था रह्यो भने सग्लो पार्टीको भविष्यका बारेमा केही भन्न सकिँदैन ।’

Published : Thursday, 2019 November 7, 1:24 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया