नेविसंघ नेताको नेतृत्वलाई सुझाव : कम्युनिस्ट सरकारलाई ‘तोरीको फूल’ देखाइदिउँ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘तोरीको फूल’ देखाइदिन आफूहरू तयार रहेको सुझाव दिएका छन् ।

शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कम्युनिस्ट सरकारलाई तोरीको फूल देखाइदिने अभियानमा कांग्रेसको निर्देशन कुरेर बसेको बताएका हुन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले तत्कालीन प्रधानन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा नियुक्त गरेका प्रदेशका सबै प्रदेश प्रमुखहरूलाई हटाएपछि नेपाली कांग्रेसका नेताहरूले विरोध जनाइ रहेका छन् ।

‘कम्युनिस्ट सरकारले द्वन्द्वको निम्ता दियो भन्ने हल्ला छ सामाजिक संजालका भित्ताहरूमा’, उनले भनेका छन्, ‘उसो भए धन्यवाद दिनुस् आदरणीय प्रवक्ता (विश्वप्रकाश शर्मा) ज्यू सरकारले दिएको निम्तालाई स्वीकार गरौँ र मैदानमा जाऊँ ।’

‘द्वन्द्वमा कागजी बन्दूकहरूले काम गर्दैनन् । लोकतन्त्रका लागि सम्पूर्ण शक्तिलाई संगठित रूपमा परिचालित हुने फर्मान जारी गरौँ’, उनले भनेका छन्, ‘दुईतिहाइलाई तोरीको फूल देखाई दिउँन त । अन्यथा ढिलो होला । समयमै बुद्धि पुर्‍याउ ।’

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको गलत निर्णय र हर्कतहरूको विरोध गर्नुपर्ने र आवश्यक्ताअनुसार सडकबाट विरोध गर्नुपर्ने दवाव बढ्दै गएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल तरुण दललगायतले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको निर्णयको विरोध गर्दै प्रतिपक्षसँग द्वन्द्व निम्ताएको प्रतिक्रिया दिइसकेका छन् ।

सामाजिक सञ्जालमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सरकारको विरोध गर्दै पार्टीलाई सडक आन्दोलनमा जान दवाव दिइरहेका छन् ।

नेपाली कांग्रेसका नेताहरूले अनौपचारिक रुपमा सात प्रदेशका प्रमुखहरू हटाउने निर्णयको विरोध गरे पनि औपचारिक रुपमा पार्टीले विज्ञप्ति जारी गरेको छैन ।

उता, नेपाल तरुण दलले पनि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध सडक प्रदर्शन गर्न आफूहरू तयारी अवस्थामा रहेको जनाइ सकेको छ ।

तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले त्यसको संकेत दिइसकेका छन् ।

Published : Monday, 2019 November 4, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया