आउनुस् पहिला गफाडी कम्युनिस्टहरूलाई पत्तासफा गरौँ, समय आयोः खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई राजनीतिक संस्कारमा ध्यान दिन आग्रह गरेका छन् ।

ओखलढुंगामा आइतबार पोकली झरना सेवा समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले कम्युनिस्टहरूले सहमति र सहकार्यको बाटोलाई भुलेको बताए ।

‘देश र जनताको विकास गर्ने हो भने यो दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सहमति र सहकार्यको बाटोलाई अंगाल्नुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले देश र जनताको विकासका लागि सबै तिक्तताहरू भुलेर सहयोग गर्न तयार छ । तर, कम्युनिस्टहरू राजनीतिक संस्कार नै छैन ।’

कम्युनिस्ट सरकारले प्रतिपक्ष दललाई चिढ्याउने मात्रै काम गरेको नेपाली कांग्रेसका युवा नेता खतिवडाले आरोप लगाए । कांग्रेसलाई सधैँ चिढ्योने काम भयो कम्युनिस्टहरूलाई उचित जवाफ दिने खतिवडाले चेतावनी दिए ।

‘यो देश भड्खालोमा यिनै अहंकारी कम्युनिस्टहरूले नै पार्नेछन्’, उनले भने, ‘देश र जनताको काम कांग्रेसले नै हो गर्ने । कम्युनिस्टहरू भनेका गफ गरेर जनता झुक्काउने मात्रै हुन् ।’ उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल भएको दोहोर्‍याए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले कम्युनिस्टहरूलाई उपनिर्वाचनमा हराएर जनताले उचित जवाफ दिनुपर्ने बताए । उनले भने, ‘उपनिर्वाचनमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आन्तरिक मतभेद छाडेर कम्युनिस्टहरूलाई हराउनुपर्छ । उपनिर्वाचन जितेपछि फेरि पार्टीभित्र झगडा गरौँला ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्य सुधारको कामना गरेका खतिवडाले भने, ‘प्रधानमन्त्रीज्यको उपचार राम्रोसँग हुनुपर्छ । उहाँलाई स्वास्थ्य लाभको कामना छ । तर, देशलाई राम्रोसँग उहाँले चलाउनुपर्छ ।’

पोकली झरनाको विकास र पर्यटन प्रवर्द्धनका लागि आग्रह गरेका खतिवडाले भने, ‘मैले यो झरनाका लागि थोरै भएपनि प्रयास विगतमा गरेको थिएँ । यसलाई पर्यटनका रुपमा अगाडि बढाउनुपर्छ । तर, अहिलेका माननीयज्यूहरूलाई पिङ उद्घाटन गर्नै फुर्सद छैन । जनता र जिल्लाको विकासमा पनि ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले पोकली झरनाको विकास, संरक्षण, प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने बताए । उनले विगतमा पनि पोकली झरनाका लागि आफूले धेरै गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवार, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वसांसद बालकृष्ण ढुंगेलसहितका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उल्लेख्य स्थानीयहरूको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले कार्यक्रममा सहभागी हुन ओखलढुंगा आएका बेला पार्टीका स्थानीय नेता तथा कार्यकर्ता र आफ्ना शुभेच्छुकहरूसँग भेटघाट गरेका थिए ।

Published : Sunday, 2019 November 3, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया