तरुण फसाउन खोज्ने डीएसपीलाई विभागीय कारबाही शुरू, शाहीका दिनदशा बिग्रिए

काठमाडौं । नेपाल तरुण दलका नेतासँग खसी माग्ने ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि विभागीय कारबाही शुरु भएको छ ।

डीएसपी शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेको विषयमा छानबिन हुनेछ । पाँच नम्बर प्रदेश प्रहरीले डीएसपी  शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैका बारे छानबिन गर्न समिति गठन गरेको हो ।

पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् ।

समिति आइतबार गठन भएको हो । समितिले दश दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्नुपर्नेछ । समिति छानविनका लागि बाँके पुगिसकेको छ ।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज २ स्थित नमस्ते भिलेज रिसोर्टबाट ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

पक्राउ परेको हतियार डीएसपी शाही आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो ।

यता, प्रहरी मुख्यालय नक्सालले पनि डीएसपी शाहीले खसी मागेको अडियो र हतियार बरामद भएको विषयमा छानविन गर्न अलग्गै छानविन समिति बनाएको स्रोतले जनाएको छ । हेडक्वाटरबाट बनाइएको भनिएको समितिका बारेमा प्रहरीले केही भनेको छैन ।

Published : Sunday, 2019 November 3, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया