मिलेर पहिला पार्टी बनाऔँ, कसैलाई अन्याय हुन दिन्नः देउवा
बन्दिपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र जे जस्तो असहमति र असन्तुष्टि भएपनि त्यसलाई न्योचित रुपमा मिलाउने पक्षमा आफू रहेको प्रतिवद्धता जनाएका छन् ।
तनहुँ जिल्लाको बन्दिपुर र डुम्रेमा आइतबार पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट तथा अन्तरक्रियामा सभापति देउवाले सबै मतभेदहरू एकछिनका लागि भुलेर पार्टी बनाउन लाग्न आह्वान गरे । 
‘पार्टीभित्र मतभेद र असन्तुष्टिहरू छन् । मलाई सबै कुराको जानकारी छ’, सभापति देउवाको भनाइ उदृत गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘पहिला पार्टीलाई बलियो बनाऔँ । मैले कसैलाई अन्याय हुन दिनेछैन ।’
तनहुँ जिल्लाको आन्तरिक समस्याका बारेमा पनि जानकारी रहेको सभापति देउवाले बताए ।
‘तनहुँ जिल्लाको विवाद र असन्तुष्टिहरूको बारेमा पनि मलाई जानकारी छ’, देउवाले भने, ‘रामचन्द्र पौडेलजी पनि हुनुहुन्छ । यहाँ धेरै केन्द्रीय साथीहरू पनि हुनुहुन्छ । उहाँहरूले कसैलाई अन्याय गर्नु हुनेछैन । मैले पनि पार्टीका साथीहरू अन्याय हुन दिने छैन ।’
सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र तनहुँका केन्द्रीय सदस्यहरूलाई जिल्लाभित्र रहेको पार्टीको समस्या समाधान गर्नका लागि निर्देशन दिएका थिए ।
डुम्रेमा रहेको कुवेर आयल स्टोर्समा पनि नेता तथा कार्यकर्ताहरूसँग भेट गरेका सभापति देउवाले पार्टीलाई बलियो बनाएर जानुपर्ने बताए ।
उनले उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जसरी पनि जिताउन निर्देशन दिएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकार सबैतिर असफल भएको भन्दै देउवाले भने, ‘कम्युनिस्ट सरकारले कर बढाएको छ । जनतालाई दुःख दिएको छ । विकासका काम भएका छैनन् । जनतालाई कांग्रेसले मात्रै राहत दिन सक्छ ।’
कार्यक्रममा सभापति देउवासँगै केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई, स्थानीय नेता गोपाल अधिकारी लगायतका कांग्रेस नेताहरूको सहभागिता रहेको थियो ।
सभापति देउवा डुम्रेबाट मुग्लिन हुँदै भरतपुर प्रस्थान गरेका छन् । भरतपुर हुँदै देउवा काठमाडौं प्रस्थान गर्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया