देउवाले तनहुँबाट दिए कम्युनिस्ट सरकारलाई राहत हुने सल्लाह (तस्वीर)

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास र जनताको उन्नतीका लागि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले प्रमुख प्रतिपक्ष दलसँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

तनहुँ जिल्लाको दमौलीमा शनिबार प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको लोकार्पण गर्दै देउवाले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्ने बताए ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकार चौतर्फी रुपमा बद्नाम र असफल भइरहेका बेला नेपाली कांग्रेसका सभापति देउवाले प्रतिपक्षको साथ लिएर काम गर्न सुझाव दिएका हुन् ।

देउवाले कम्युनिस्ट सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने बताए ।

‘सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ’, देउवाले भने, ‘कम्युनिष्ट सरकारले राम्रो काम गरोस् ।’

सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् ।

दुई तिहाईको बलियो कम्युनिस्ट सरकारले देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै उनले त्यस्तो कार्य कांग्रेसलाई मान्य नहुने बताए ।
‘अहिलेको सरकार कम्युनिष्ट सरकार हो’, उनले भने, ‘तर कम्युनिष्ट देश होइन ।’

प्रजातन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा कांग्रेस जान नसक्ने सभापति देउवाले बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक अधिकार कुण्ठित हुने हो की भन्ने चिन्ता रहेको बताएका छन् ।

उनले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस पछाडि नहट्ने प्रष्ट पारे । पौडेलले राजनीति र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताएका छन् ।

अदालत, संवैधानिक निकाय र अख्तियारलाई दुई तिहाईको त्रास देखाउने काम भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई तिहाई मतको दुरुपयोग गर्न नहुने बताए ।

‘नेपाली कांग्रेस समाप्त भए लोकतन्त्र समाप्त हुने भएकाले कांग्रेसलाई बलियो शक्ति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो’, उनले भनेका छन् ।

नेपाली कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसका नेता एकजुट भए कांग्रेस पार्टीलाई कसैले पनि हराउन नसक्ने बताए ।

उनले विचार र इतिहास राम्रो तथा कार्यकर्ता सक्षम रहेकाले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदय हुने बताए ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले स्व.नेता पोखरेलको राजनीतिक एवं आत्मवृतान्त ‘मेरो जीवन यात्रा’बारे समीक्षा गरेका थिए ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्यद्वय सरिता गुरुङ र दोबाटे विक, नेपाली कांग्रेसका नेता समुन्द्र गोदार, तनहुँ कांग्रेसका उपसभापति लक्ष्मी आचार्यलगायतले स्व.गोवर्द्र्धन शर्मा पोखरेलको सिद्धान्त र विचार आजका कांग्रेस नेता कार्यकर्ताले आत्मसात गर्नुपर्ने बताए ।

Published : Saturday, 2019 November 2, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया