कांग्रेस नेता शाहको आग्रहपछि कृष्णानगर घटनाका मुख्य नाइके पक्राउ

चन्द्रौटा । कपिलवस्तु जिल्लाको कृष्णानगरमा सामाजिक सद्भाव भड्काउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु प्रहरीले कृष्णानगर घटनाका मुख्य नाइके जमाल साहलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा उनै जमाल साहको नेतृत्वमा आएका २०–२५ जनाको समूहले विवाद गर्दा कृष्णानगरमा एक जनाको ज्यान जाने गरी घटना भएको थियो ।

नेपाली कांग्रेसका युवा नेता एवम् कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद अभिषेकप्रताप शाहले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापालाई ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरमा भेटेर ज्ञापन पत्र बुझाउँदै कृष्णानगर घटनाका मुख्य नाइके जमाल साहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका थिए ।

सांसद शाहको ज्ञापन पत्र र आग्रह लगत्तै जमाल साहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्ने क्रममा आफू कृष्णानगर घटनाप्रति गम्भीर रहेको भन्दै दोषीलाई उन्मुक्ति नदिने चेतावनी दिएका थिए । गृहमन्त्री थापाको निर्देशनमा नै प्रहरीले कृष्णानगर घटनाका मुख्य नाइकेलाई पक्राउ गरेको जनाइएको छ ।

कृष्णानगर घटनामा गोली लागेर चिया पसल गर्ने २१ वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।

पाण्डेको परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन पनि सांसद शाहले गृहमन्त्री थापालाई आग्रह गरेका थिए । गृहमन्त्री थापाले पनि सो विषयमा आफू सकारात्मक रहेको सन्देश सुनाएका थिए ।

Published : Saturday, 2019 November 2, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया