कृष्णानगर घटनाका मुख्य नाइकेलाई कारबाही गर्न कांग्रेस नेता शाहको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले कृष्णानगरमा धार्मिक दंगा फैलाएर लाभ लिन सक्रिय समूहलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेका छन् ।

कपिलवस्त क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद शाहले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापालाई ललितपुरस्थित मन्त्री क्वाटरमा भेटेर कृष्णानगरमा दंगा फैलाउने समूहलाई कारबाहीको माग गरेका हुन् ।

सांसद शाहले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएर दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले पनि कृष्णानगरको घटनाप्रति आफू सम्वेदनशील रहेको र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धता जनाएको सांसद शाहले जानकारी दिए । गृहमन्त्री थापाले दोषीलाई कारबाही हुने आश्वासन पनि दिएका छन् ।

नेपाली कांग्रेसका सांसद शाहले धार्मिक संहिष्णुता बिथोल्न खोज्नेमा स्थानीय मुस्लिम नेता जमाल साह रहेको भन्दै कारबाहीको माग गरेका छन् ।

जमाल साहलाई कृष्णानगर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले पक्राउ गरेर कारबाही गर्नुको साटो हात जोडेर माफी मागेको भन्दै सांसद शाहले गृहमन्त्री थापासँग आक्रोश पोखेका छन् ।

मिलेर बसेका सबै धर्म समूदायका बीच साम्प्रदायिक हिंसा भड्काएर व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोज्ने जमाल साह प्रवृत्तिलाई अन्त्य गर्नै पर्ने उनले बताएका छन् ।

‘कात्तिक १३ गतेका दिन कृष्णानगर नगरपालिकास्थित झण्डेनगरमा तीन वटा ठाउँमा लक्ष्मीको मूर्ति बनाइ पूजाअर्चना गरी दीपावली मनाई साँझ करीव ५ बजेको समयमा मूर्ति विसर्जन गर्न लैजाँदा बाटो साँघुरो रहेकाले ट्याक्टरमा राखेको डिजे बाजालाई बन्द गरी मदरसा नजिको छेउको सडक हुँदै मूर्तिलाई लिएर गोलघर ल्याउने क्रममा जमाल साहको नेतृत्वमा रहेका करीव २०–२५ जनाको समूहमा रहेका मुस्लिम समुदायका मान्छेहरूले एकाएक आक्रमण गरी ट्याक्टर तोडफोड गर्दै हिन्दू समुदायको घरमा प्रवेश गरेर कुटपिट गरेका छन्’, ज्ञापन पत्रमा भनिएको छ, ‘रातभरि हिन्दू समुदायको घरमा आक्रमण गरिएको छ ।’

‘कात्तिक १४ गतेका दिन मुख्य नाइके जमाल साहलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरिरहेका युवाहरूमाथि बल प्रयोगको न्यूनतम आधारभूत सिद्धान्तलाई समेत ख्याल नगरी अन्धाधुन्द तरिकाले गोली चलाउँदा २१ वर्षीय सुरज पाण्डेको मृत्यु भएको छ । चियापसल गर्दै आएका पाण्डेको टाउकोमा तोकेर प्रहरीले गोली हानेको छ ।’

‘घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कारबाही गरी मृतक परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ’, नेपाली कांग्रेसका युवा नेता शाहले भनेका छन्, ‘मानवअधिकारको संरक्षण तथा सम्बर्द्धनको लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

Published : Saturday, 2019 November 2, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया