डीएसपीको ‘खसी काण्ड’ले देशभरि खैलाबैला, नेकपाको पुच्छर नबन्न तरुणकाे चेतावनी

काठमाडौं । नेपाल तरुण दल नेपालगञ्ज नगर समितिका अध्यक्ष सन्दीपजंग शाहसहित छ जना तरुण नेताहरू पक्राउ परेपछि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले खसी उपहार मागेको रहस्य बाहिर आएको छ ।

दशैँमा खसी उपहार नपाएको झोँकमा डीएसपी शाहीले तरुण अध्यक्ष शाहसहित छ जनालाई हतियार काण्डमा फसाएको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले दाबी गरेका छन् । ‘दशैँको खसी नपाएकै झोँकमा तरुण नेता साथीहरूलाई हतियार काण्डमा फसाउनु हुँदैन’, उनले भने, ‘त्यो हतियार कसको हो सत्यतथ्य छानविन हुनुपर्छ ।’

छ जना तरुण पक्राउ परेसँग बाहिर आएका अडियो रेकर्डहरूबाट डीएसपी शाहीले तरुण नेताहरूलाई हतियार काण्डमा फसाएको चापागाइँले बताए ।

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले जनताको शान्ति सुरक्षाका लागि खटिएको प्रहरी दुईतिहाइको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झोले कार्यकर्ता बन्न नहुने सुझाव दिए ।

‘प्रहरी संगठनको आफ्नै गरिमा र पहिचान छ । प्रहरीले जनताको मन जित्नुपर्छ । जनतालाई नानाभाँती आरोप लगाएर । गाडीमा हतियार राखेर फसाउने कार्य गर्नु हुँदैन’, उनले चेतावनी शैलीमा भने, ‘नेपाल प्रहरी नेकपा नबनोस् । अन्यथा देशभरिका युवा तरुणहरू जनताका लागि आन्दोलित हुनुपर्ने अवस्था आउनेछ ।’

नेपाल तरुण दलले सन्दीपजंग शाहको गाडीबाट फेला परेको पेस्तोलको फिंगर प्रिन्टको जाँचको माग गरेको छ ।

नेपाल तरुण दलले कोहलपुर प्रहरीले झुटा आरोपमा शाहसहितका छ जना तरुण नेताहरूलाई फसाउन खोजेको आरोप लगाएको छ ।

सामाजिक आतंकसिर्जना गर्न आफैंले सन्दीपजंग शाहको गाडीमा हतियार राखी पक्राउ गरेर फसाउन खोजेको आरोप उपाध्यक्ष चापागाइँले लगाएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पनि विज्ञप्ति जारी गरेर हतियारमा भएको फिङ्गर प्रिन्ट जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरिसकेका छन् ।

डीएसपी शाहले दशैंमा नेपाल तरुण दलका बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरीका लागि खसी मागेको अडियो सार्वजनिक भएसँगै झन् आशंका उत्पन्न भएको छ ।

‘दशैं मान्ने भन्छन् प्रहरीहरूले के छ भाई ? हामीले त भाईहरूलाई नै भन्ने हो क्या रे !’, डीएसपी शाहीले भनेका छन्, ‘एउटा खसी पठाए आभारी नै हुने थियौं ।’
डीएसपी शाहीले भनेका छन्, ‘बडाभोज गर्ने चलन पनि छ, त्यसका लागि चाहियो भोज आज बेलुका नै रहेछ ।’

खसी नदिएको भन्दै डीएसपी शाहीले तरुण अध्यक्ष शाहसहितका ६ जनालाई पक्राउ गर्नुअघि कोषाध्यक्ष खड्कालाई आफूले चाहे तिघ्रा छेड्ने धम्की दिएको तरुण दलको दाबी छ ।

डीएसपी शाहले तरुण दलको आरोप अस्वीकार गरेका छन् । उनले आफूले खसीको विषयलाई कुनै अपराधसँग जोडेर प्रतिशोध साध्न नमिल्ने बताए ।

डीएसपी शाह एक महिनाअघि मात्रै कोहलपुर प्रहरी प्रमुखको रूपमा सरुवा भएर पुगेका हुन् ।

Published : Friday, 2019 November 1, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया