देउवा निवासबाट खुसी हुँदै बाहिरिए नेताहरू, आइतबार फाइनल निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आइतबारभित्र उम्मेदवार टुंगो लगाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र प्रभावशाली नेताहरूको बैठकले उपनिर्वाचनका उम्मेदवारहरूको चयन गर्ने सहमति गरेको हो ।

जागरण अभियानमा केन्द्रबाट खटिएका प्रतिनिधिसँग पदाधिकारीहरूले छलफल गरी लोकप्रिय र स्थानीयस्तरमा काम गरेका नेता छानेर उम्मेदवार बनाउने कांग्रेसको तयारी छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लामो गृहकार्य गरेर परामर्शपछि सर्वसम्मत हुने गरी उम्मेदवार चयन गरिने जानकारी दिए ।

नेताहरूले सहमतिका साथ एकजुट भएर उपनिर्वाचनका लागि उम्मेदवार दिने विषयमा सहमति जनाएको उनले बताए ।

‘जित्ने उम्मेदवार खोज्नु सामान्य नै हो तर यसपटक विगतको जस्तो हतारमा उम्मेदवार चयन गरिँदैन’, उनले भने, ‘लामो गृहकार्य गरेर परामर्शपछि सर्वसम्मत हुने गरी उम्मेदवार चयन गरिन्छ ।’

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि एउटा प्रतिनिधि सभा र तीन प्रदेशसभा क्षेत्रसहित रिक्त स्थानीय तहहरूका लागि पदाधिकारी बैठकबाट उम्मेदवार तय गर्न कांग्रेसले गृहकार्य गरेको छ ।

नेपाली कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । सोही बैठकको तयारीका लागि पनि पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बसेको हो ।

कास्कीको क्षेत्र नं. २ का लागि नेपाली कांग्रेस कास्कीले १६ जनाको नाम सिफारिस गरेको छ ।

भक्तपुर, बागलुङ र दाङबाट प्रदेशसभा क्षेत्रका लागि पनि उम्मेदवारको नाम सिफारिस भएर आएका छन् ।

सभापति देउवाले १८ विभाग थप्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक बहिष्कार गर्ने चेतावनीपछि शुक्रबारका लागि बैठक सरेको थियो ।

Published : Thursday, 2019 October 31, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया