ओलीको डायलाइसिस गरियो, के हो डायलाइसिस ?
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको डायलाइसिस गरिएको छ ।
काठमाडौंको धापासीस्थित सुविधा सम्पन्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायलाइसिस गरिएको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले जनाएको छ ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा.दीव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ ।
अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन ।
‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो’, निर्देशक पाण्डेले भनेका छन्, ‘प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन ।’
ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरेका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एकजना चिकित्सकले भने, ‘स्वास्थ्य समस्याका लागि विशेष परीक्षण, उपचार प्रक्रियाको क्षमतायुक्त अस्पताल नै पु¥याउनुपर्ने बाध्यताले उहाँलाई ल्याइएको हो ।’
ओलीको रिपोर्ट निजी चिकित्सक डा.शाह र अर्का चिकित्सक डा.दिलीप शर्मालाई मात्र हेर्न दिइएको छ ।
प्रधानमन्त्री भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुपूर्व शाहले प्रेस नोट जारी गर्दै तत्कालीन स्वास्थ्यस्थिति र उपचार प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।
प्रधानमन्त्री ओलीको पहिलो पटक साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा एन्टीबडीको मात्रा धेरै देखिएको थियो ।
मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि मेसिनको सहायतामा रगतमा भएका फोहोर तत्व, शरीरलाई चाहिनेभन्दा बढी मात्रामा रहेको नुन र पानी बाहिर फालेर रक्तचाप नियन्त्रणमा राख्न गरिने प्रक्रिया नै डायलाइसिस हो । यो दुई प्रकारको हुन्छ ।
पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ ।
दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।
सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने र आलस्य महसुस हुन्छ । कहिलेकाहीं पूर्वलक्षण नदेखिन पनि सक्छ ।
सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ । एकपटक डायलाइसिस गर्न करिब ४ घण्टा लाग्छ । (फाइल तस्वीर)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया