उपनिर्वाचन कांग्रेसको प्रतिष्ठा हो, जसरी पनि जित्नुपर्छः देउवा
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अन्तरघातको नामै सुन्न नचाहेकाले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उपनिर्वाचन कांग्रेसको लागि जीवनमरणको प्रश्न भएको बताए । उनले उपनिर्वाचनमा जसरी पनि कांग्रेसले जित्नुपर्ने बताए ।
‘म अन्तरघातको नामै सुन्न चाहन्न’, देउवाले भने, ‘यो जीवनमरणको प्रश्न छ ।’
उनले भने, ‘त्यसैले सबै एकजुट भएर चुनावमा लाग्नुपर्छ ।’ भक्तपुरको चाहनाअनुसारकै व्यक्तिलाई उपनिर्वाचनमा टिकट दिइने उनले बताएका छन् ।
भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा यहीं आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि भक्तपुर कांग्रेसले दश जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
सभापति देउवाले भक्तपुरको कांग्रेस र जनताले खोजेको व्यक्तिलाई टिकट दिने प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेसका सभापति देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार चारैतिर असफल भएको बताए । उनले सरकारले महंगी अचाक्ली बढाएको बताए ।
सभापति देउवाले सरकारले विधेयकमार्फत व्यक्तिगत सम्पत्तिको रुपमा रहेको जग्गामा नियन्त्रण गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।
संविधानमै मौलिक हकको रुपमा रहेको जग्गा जमिनबाट व्यक्तिहरूलाई हटाउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो ।
मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको भन्दै उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन आउँदो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने बताए ।
‘कम्युनिष्ट सरकारले जनताले तिर्नै नसक्ने गरी कर बढाएको अवस्था छ’, देउवाले भने, ‘अर्कोतिर उपभोक्ता समितिको नाउँमा यत्रो भ्रष्टाचार बढेको छ ।’
‘वर्णन नै गर्न नसकिने भएको छ’, देउवाले भने, ‘त्यसैले यसबाट मुक्ति पाउन जनताले उपनिर्वाचनमा कांग्रेसलाई जिताएर देखाउनु पर्छ ।’
सभापति देउवाले भक्तपुर कांग्रेसद्वारा प्रकाशित जय नेपाल स्मारिकासमेत विमोचन गरेका छन् ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले आफूहरूको एक मात्र लक्ष्य अबको उपनिर्वाचन भएको बताए ।
उनले उपनिर्वाचनमा भक्तपुर कांग्रेस एकजुट भएर पार्टीको उम्मेदवारलाई जसरी पनि जिताउने बताए । सभापति थापाले भने, ‘उपनिर्वाचनलाई लक्षित गरेर कांग्रेसको वडा ईकाइ कार्यालयहरू स्थापनादेखि प्रचार प्रसारको काम शुरू भइसकेको छ’, उनले भने, ‘जसले टिकट पाए पनि हामीले जिताउनुपर्छ ।’
क्षेत्र नम्बर १ का सभापति जीवन खत्री र क्षेत्र नम्बर २ का सभापति नारायणभक्त खायमलीले उपनिर्वाचन जित्ने गरी भक्तपुर कांग्रेस क्रियाशील भइरहेको बताए ।
उनीहरूले भक्तपुरमा पुनः कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने गरी काम भइरहेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणा, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँलगायतका नेताहरूको उपस्थिति थियो ।
नेपाली कांग्रेस भक्तपुरले शुभ दीपावली २०७६, नेपाल संवत् ११४० नयाँ वर्ष (न्हुदँ) तथा छठको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया