गगन थापाले घोषणा गरे आफ्नो र जनताको एक नम्बर दुश्मनको नाम

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद गगन थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार भ्रष्टाचारमा डुबेर गन्हाइ रहेको आरोप लगाएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ मा शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको आसपास भ्रष्टाचारले डुङ्डुङती गन्हाएका व्यक्ति रहेको बताए । ती व्यक्तिहरूको घेराभित्र प्रधानमन्त्री ओली रहेको उनले बताए ।

‘भ्रष्टाचारी एक जनालाई पनि छोड्दिन भन्नु हुन्छ प्रधानमन्त्री । केही दिन अगाडि एक जना साथीले बडो व्याङ्ग्यका साथ हामीलाई सुनाउनु भएको एउटा प्रसंग थियो’, उनले भने, ‘उहाँ बालुवाटार जानुभए छ । बालुवाटारको वरिपरी भन्दै हुनुहुँदो रहेछ । सबै साथीहरूलाई राखेर । म एक, दुई, तीन भ्रष्टाचारीको अनुहार हेर्दिन ।’

‘त्यहाँ पुग्नुभएको साथीले सोध्नु भए छ । त्यहाँ छेउमा भएकोलाई अलि सुनिएको जस्तो देख्नु हुन्छ । उहाँ के कारणले गर्दा सुनिनु भयो ? प्रधानमन्त्रीको छेउमा बस्नेले भन्नुभए छ– उहाँ सुन्निनु भयो । होइन उहाँ मोटाउनु भयो । के कारणले मोटाउनुभयो ? मेलम्ची पिएर मोटाउनुभयो’, नेपाली कांग्रेसका नेता थापाले भने, ‘छेउमा बस्ने अझ मोटाएको छ । उहाँ चाहिँ किन मोटाउनुभयो ? उहाँले टेलिफोनको, फ्रिक्वेन्सी, थ्री जी, फोर जी सबै खानु भएकोले मोटाउनुभयो ।’

‘अर्को झन् मोटाउनु भएको छ । उहाँ किन मोटाउनुभयो ? उहाँले बुढी गण्डकी नै खानु भएकोले मोटाउनुभयो । बुढी गण्डकी पिउनु भयो’, थापाले भने, ‘अर्को एकजना त सम्हालिन नसकेर भुइँमा लडीबुडी गरिराख्नुभएको रहेछ । उहाँ चाहिँ किन लडीबुडी गरिराख्नु भयो ? उहाँ लडीबुडी गरिरहेको त बालुवाटारै खाएकोले पचाउन नसकेर उहाँ लडीबुडी गरिरहनु भएको छ ।’

‘यो सरकारले संविधानले जे–जे काम नगर भनेको छ त्यही त्यही काम गरेको छ । जसमा हात हाल्नै पर्दैन थियो त्यसमा हात हालेको छ’, उनले भने, ‘संसदले सरकार बनाउँछ । संसदको आदेश सरकारले मान्ने हो । ठीक उल्टो छ । सरकारले संसदलाई तर्साउँछ ।’

‘सरकारले गल्ती गर्‍यो भने अदालतले सच्चायाउने हो । अदालत थुरथुर छ सरकारसँग । कति खेर दुईतिहाइको तरवार झुण्डिने हो भनेर’, सांसद थापाले भने, ‘सबै प्रदेशको सरकारलाई पंगु बनाइएको छ । नेकपाबाट निर्वाचित भएको सांसदले चितवनको सार्वजनिक कार्यक्रममा यो प्रदेश भंग गरिदिए हुन्थ्यो भनेर बोल्दै हुनुहुन्थ्यो । प्रदेशका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीका बिग्रिएको फोटोकपी जस्तो देखिनु हुन्छ । प्रदेशका सांसदहरू प्रदेश भंग गरिदिनुस् भन्ने अवस्थामा पुग्नुभएको छ ।’

‘राष्ट्रपतिको संस्था हामी सबैको संस्था हो । तर, आज राष्ट्रपतिको सवारी हुँदै गर्दा मानिसहरू आतंकति भएर भाग्नुपर्ने अवस्था छ’, उनले भने, ‘नागरिकको अधिकार थप्दै जानुपर्ने ठाउँमा नागरिकको अधिकार एकपछि अर्को कुण्ठित हुँदै खोसिदै गएको छ ।’

‘निर्मला पन्तको दोषीलाई पक्राउ गर्न सक्दैन सरकार । त्यहाँ पक्रन जाँदैन प्रहरी’, उनले भने, ‘एउटा गायकको गीत मन परेन भने कान थुने हुन्छ । तर, गीत गाउने मान्छेलाई समान्त जान्छ । कविता भन्ने मान्छेलाई समात्न जान्छ ।’

‘पाँच सयभन्दा धेरै उद्योग बन्द भइसके । आजको कलकारखानाको अवस्था जस्तो छ । त्यस्तै रह्यो भने’, उनले भने, ‘बदलिएन भने केही दिनभित्र सरकारले तलब पनि नसक्ने अवस्था बन्दै छ ।’

‘अदालतले अब भन्नै पर्दैन वडाध्यक्षलाई तलब नखुवाउ भनेर । सांसदले बढी खाए, राष्ट्रपतिले खाए भन्नै पर्दैन । कसैले पनि खान पाउँदैन’, उनले भने, ‘कंगाल हुन लाग्यो देश । ढुकुटी रित्तिन लागिसक्यो । आम्दानी कहिँबाट छैन ।’

‘कुनै नयाँ उद्योगधन्दा, कलकारखाना छोडिदिनुस् । भएका सबै धमाधम बन्द हुन थालिसकेको छ । सरकार आएर हामीलाई के भन्दै छ भने – मामा आउँदै छन् चिचीपापा ल्याउने छन् भने जस्तो भारत आउनेछ । चीन आउनेछ । रेल बनाइदिनेछ । पानीजहाज बनाइदिनेछ भनेर हाम्रा बीचमा भनेको छ’, उनले भने ।

‘सरकारसँग ताकत छ । तर, ताकतको सही ठाउँमा प्रयोग गरेन । दुईतिहाइ बहुमत नराम्रो होइन । त्यसले झन् सजिलोसँग काम गर्न सक्छ’, नेपाली कांग्रेसका युवा नेता थापाले भनेका छन् ।

‘यो सरकारले गर्नुपर्ने काम गरोस् । गर्न नहुने काम नगरोस् । यत्ति गरिदिए पुग्छ । तीन वर्ष हाम्रो शुभकामना छ’, उनले भने, ‘तीन वर्षमा आलोपालो, कसले चलाउने, आलो चलाउने, उठेर चलाउने, बसेर चलाउने ङ्यार…ङ्यार…ङुरङर…उहाँहरूको छ । यसबाट पनि मुक्ति मिलोस् ।’

‘हामी चुनाव हार्‍यौँ । हार्न मन थिएन । हार्‍यौँ । हारेको कुरालाई हामीले स्वीकार गर्नुपर्छ । हारेर अर्को चुनाव आउने बेला भइसक्यो हाम्रो अवस्था कस्तो छ ?’, उनले भने, ‘एउटा फुटबल खेलमा हारिसकेपछि एक छिन बस्ने हो किन हारियो ? भनेर समीक्षा गर्ने हो । अर्को म्याच आउन लागिसक्यो ।’

‘नयाँ गेमको तयारी गर्नुपर्ने बेलामा अहिले पनि टोलदेखि गाउँसम्म हेर्‍यौँ भने तेरो कारणले गर्दा हारेको भन्छन् । फुटबल म्याचभन्दा पहिला के कुरा बुझ्नु छ भने फुटबल म्याच जित्नको लागि त फुटबलको राम्रोसँग नियमअनुसार खेल हुनु पर्छ’, उनले भने, ‘रेफ्री झेली गर्ने तयारी गर्दै छ । खेलको नियम उलटपुलट पार्ने कोशिष गर्दै छ । त्यसै पर्‍यो भने फुटबल खुट्टले होइन हातले हानेर गोल भएकोलाई गोल भन्नुपर्छ भनेर तर्साउन खोज्दै छ हामीलाई ।’

‘जनताले हामीले प्रतिपक्षको भूमिका दिएर पठाएका छन् । नागरिकको स्वतन्त्रता धरापमा पर्न थालेको छ’, उनले भने, ‘यही चाला हो भने व्यवस्था नै धरापमा पर्छ कि भन्ने अवस्था आएको छ ।’

‘हिजो सूर्यलाई भोट हालेको मान्छेहरू घामको राप बढ्न थाल्यो भनेका छन् । हिजो मसाललाई भोट हालेका मानिसहरू मसालले पोल्यो भन्न थालेका छन्’, थापाले भने, ‘यी सबैलाई रुखले छहारी दिन सक्दछ भन्ने विश्वास हामीले दिलाउनुपर्छ ।’

‘म सिन्धुपाल्चोकको मेलम्ची गएर आएको थिएँ । मेलम्ची पुगेर आउँदै गर्दा जर्सिङ पौवादेखि साँखु हुँदै जोरपाटीसम्म आइपुग्दा हालत पतला भयो । डल्लो भएर आइपुगे’, उनले भने, ‘यसो गर्दै गर्दा मैले माधव नेपाललाई सम्झिए । बेलाबेला साथीहरूले सामाजिक सञ्जालमा हाल्नु हुन्छ ।’

‘कपनको बाटो देखाएर गगन थापाको बाटो यस्तो कोटेश्वरको बाटो देखाएर माधव नेपालको बाटो यस्तो भनेर हाल्नु हुन्छ’, उनले भने, ‘मैले कमरेड माधव नेपाललाई सम्झिए । त्यसो भन्दै गर्दा हाम्रो क्षेत्रको सडक सञ्जालबाट पन्छिन सक्दैनौँ ।’

‘दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी गएका ठेकेदारहरूले काम सम्पन्न नगरिसके पछाडि दुई वर्ष पूरै मद्दत गरिसके पछाडि हामी १३ वर्षदेखि लडाइँ लडिरहेका छौँ’, थापाले भनेका छन्, ‘कामचोर ठेकेदारहरूलाई कारबाही गर्न । जय नेपाल भने पनि कारबाही गर । लाल सलाम भने पनि कारबाही गर । हामीलाई दुःख दिने ठेकेदारलाई कारबाही गरभन्दा कमरेडहरू जुलुस लिएर जानुभयो ।’

‘यो थापाले सबै ठेकेदारलाई कारबाही गर भन्दै छ सबै ठेकेदारलाई बचाउनुपर्छ भने । कुनै कुराले नभएपछि सडकमा गएर धर्ना बस्यौँ । सडकमा गएर नाटक गर्ने भनेर भन्नुभयो’, उनले भने, ‘सडकको धर्ना दिने दिन मन्त्रीलाई फोन गरेर भने म तपाइँकोमा आउँदै छ । उहाँले भन्नुभयो म समय मिलाउँछु भन्नुभयो । म समय मिलाउन तपाईलाई फोन गरेको होइन ।’

‘म शुक्रबार एक बजे तपाईको कार्यकक्षमा आउँदै छु । सयौँको संख्यामा आउँदै छौँ । सिंहदरबारभित्र आएर धर्ना बस्छौँ’, उनले भनेका छन्, ‘प्रहरी प्रशासन बोलाउने कुराको जानकारी दिन तपाईलाई खबर गरेको भनेर मन्त्रीलाई फोन गरेँ ।’

‘उहाँले शुक्रबार आउन दिनुभएन । बुधबार नै बोलाउनुभयो । छलफल गर्नुभयो । र, अहिले चिठी काट्नु भएको छ’, उनले भने, ‘मंसिरभित्र काठमाडौं क्षेत्र नं. ४ को काम सम्पन्न भयो भने भयो, मंसिरभित्र काम सम्पन्न गर्ने गरी आउँछ भने आउँछ ।’

‘आउँदैन भने सबै ठेकेदारहरूलाई कारबाही गर्छु भनेर चिठी काट्नु भएको छ’, उनले भने, ‘कमरेडहरूलाई आग्रह गर्छु फेरि नजानु होला निवेदन लिएर । कारबाही गर्न दिनु होला ।’

‘हाम्रो अर्को मुद्धा पनि छ यहाँको खानेपानीको । खानेपानीका लागि हाम्रो ठाउँबाट प्रयास गरिरहेका छौँ’, उनले भने, ‘थुप्रै आयोजनाहरू अगाडि बढिरहेको छ । हामी मेलम्चीसँग जोडिन चाहन्छौँ । केही कमरेडहरू अगाडि आउनुभयो ।’

‘हाम्रा महान कमरेडले गर्दा खानेपानी खान पाइने भयो । लेख्नुभयो । लेखाउनुभयो । मेरो यसमा केही पनि भन्नु छैन’, उनले भने, ‘म त केसम्म भन्न तयार छु भने काठमाडौंको खाल्डो मञ्जुश्रीले काटेकै होइन तपाईले काटेको हो भन्दिनु हुन्छ भने म तयार ।’

‘त्यो खानेपानीको काम गर्न पनि को आएको छ ? त्यही घरबेटी आउँदै छ । जुन घरबेटीले हामीलाई सबैभन्दा धेरै दुःखदियो’, उनले भने, ‘त्यहाँ चिठी दिएर भनेका छौँ । कपनको सडक नबनाइकन यहाँभित्र छिर्‍यो भने घरबेटीको घरभित्र छिरछौँ भनेर आएका छौँ ।’

नेता थापाकाे निर्वाचन क्षेत्रमा सत्तारुढ नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी समेत रहेका ठेकेदार शारदा अधिकारीलाई लक्षित गरेर जनताकाे काम नगर्ने दुश्मनकाे संज्ञा दिएका हुन् ।

‘संसदमा सरकारले एउटा कानून प्रस्ताव गरेको छ । त्यसलाई हामी सूचना प्रविधि कानून भन्छौँ । अहिले तपाईले सुन्नुभएको छ एउटा दुइटा गायकको बारेमा’, उनले भने, ‘कांग्रेसका साथीहरूलाई भन्छु । हामीले एउटा सहि धारणा बनाउँदा हामी कसरी अफ्ठ्यारोमा पर्दै छौँ ?’

‘प्रधानमन्त्रीले भन्नुभयो म पानीजहाज ल्याएर आउँछु । तपाईलाई बेलुका गएर लेख्न मन लाग्यो प्रधानमन्त्रीले पानीजहाज ल्याउनु हुन्न । कहीँ तपाईले पानीजमेको देख्नुभयो’, उनले भने, ‘त्यो जमेको पानीमा कसैले कागजको जहाज बनाएर राख्यो, त्यो फोटो खिचेर तर्पाइले भन्नुभयो प्रधानमन्त्रीजी यही हो पानीजहाज ? भनेर राख्नुभयो । भोली बिहान काठमाडौं प्रशासनको चिठी बोकेर, प्रहरीको स्वीकृति लिएर कपनको प्रहरी तपाईको घरमा आउँछ ।’

‘तपाईले हिजो बेलुका फेसबुकमा गरेको पोष्टबाट प्रधानमन्त्रीजीलाई जिस्काउने काम गर्नुभएकोले तपाईलाई हिरासतमा लिइएको छ’, उनले भने, ‘तपाईलाई प्रहरीले अदालतमा लिएर जान्छ । अहिलेको अदालत होइन । सरकारले तीन जना मान्छे छानेर त्यो अदालत बनाउँछ । सरकारको अदातल । जनअदालत । त्यहाँ उभ्याउँछ ।’

‘तपाईले प्रधानमन्त्रीलाई जिस्काउने काम गर्नुभएको हुँदा सूचना प्रविधि ऐनको दवाफले पाँच वर्षको निम्ति जेल पठाइएको छ । १५ लाख रुपियाँ जरिवाना गरिएको छ’, थापाले भने, ‘यो कानून बन्दै छ संसदबाट । मंसिरको २१–२२ बाट संसद चल्छ । यो कानून पारित हुने कोशिस हुन्छ । यस्ता अरु दर्जनौं कानूनहरू छ । संसद र सडकको ताकतले मात्रै बरालिएको सरकारलाई ठीक ठाउँमा ल्याउन सक्छौँ ।’

Published : Monday, 2019 October 28, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया