काठमाडाैंमा कांग्रेस नेता खतिवडाकाे चियापान, राम्रो कांग्रेस बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसमा काम गर्दै जाँदा गल्ती र कमिकमजोरी भएको रहेछ भने त्यसको जस र अपजस सबै लिन आफू तयार रहेको बताएका छन् ।

दशैँ, तिहार, छठलगायतका विभिन्न चाढपर्वहरूको उपलक्ष्यमा आइतबार काठमाडौंमा शुभकामना आदान प्रदान गर्न आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विगतमा नराम्रा काम गरिएको भए त्यसलाई क्षमा गरिदिन आग्रह गरे । उनले आजैका दिनदेखि सबै नराम्रा र विगतका तिक्ततालाई भुलेर बलियो र राम्रो कांग्रेस बनाउन लाग्नुपर्ने बताए ।

‘विगतमा नराम्रा काम गरेका हौँला । ती कुरालाई भुलेर आजका दिनदेखि हाम्रो र राम्रो प्यारो कांग्रेस बनाउन लाग्नुपर्छ’, उनले भने, ‘सबै एकताबद्ध भएर हिँड्यौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

‘कसैलाई अपमान गरियो होला । नराम्रो गरियो होला । नराम्रो गरिएको रहेछ भने माफी माग्छु । त्यसको जिम्मेवारी मलाई दिनुस्’, खतिवडाले भने, ‘नेपाली कांग्रेस बलियो भयो भने कसैले हल्लाउन सक्दैन ।’

‘हाम्रो नेतृत्वमा कांग्रेस शक्तिशाली हुनेछ । हामी एक भयौँ भने प्रजातान्त्रिक शक्तिलाई हराउने ताकत कसैले राख्न सक्दैन’, उनले भने, ‘दुईतिहाइको सरकारसँग जनता आजित बनेका छन् ।’

उनले निर्वाचनका बेला जनतालाई झुक्काएर कम्युनिस्टहरूले भोट पाएको बताए । ‘ओखलढुंगामा पनि कम्युनिस्टहरूले गरेको प्रतिवद्धता पूरा हुन सकेको छैन’, खतिवडाले भने, ‘जनता समक्ष गरेका बचनलाई पूरा गर्नुपर्छ । धोका दिनु हुँदैन ।’

नेपाली कांग्रेसको केन्द्रीय नीति तथा कार्यक्रम प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले नेपाली कांग्रेसको सिद्धान्तमा प्रतिवद्ध कार्यकर्ता बनाउन लाग्नुपर्ने बताए ।

‘कांग्रेस मात्रै बनेर हुँदैन । कांग्रेसलाई माया गरेर पनि पुग्दैन’, उनले भने, ‘लोकतन्त्रमा आस्था राख्नेहरूले नेपाली कांग्रेसलाई सिद्धान्तका रुपमा मन पराएर बस्नुपर्छ । हामीले सिद्धान्तमा आस्था राख्ने कांग्रेस बनाउनुपर्छ ।’

नेपाली कांग्रेस ओखलढुंगा जिल्लाका सभापति प्रदीप सुनुवारले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्ने बताए ।

नेपाली कांग्रेसमाथि विश्वास गरेर ओखलढुंगा जिल्लामा विभिन्न दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको बताए । उनले नेपाली कांग्रेसलाई बलियो बनाउन ठूलो भूमिका रहनुपर्ने बताए ।

नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रसेन दाहालले विगतको तिक्ततालाई भुलेर आउनुस् सबै मिलेर कांग्रेस बनाऔँ भनेर अपील गरेका थिए ।

चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओखलढुंगा जिल्ला घर भई काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसाय गरेर बस्ने झण्डै एक हजार जनाको उपस्थिति थियो ।

चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेता होमनाथ दाहाल, महेश कर्मोचा, खिलानाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2019 October 27, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया