नेकपाका कार्यकर्ताकाे हर्कतले कांग्रेस रिसायाे, कारबाही गर्न अनिता देवकोटाकाे माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्तासिन दलका कार्यकर्ताहरूले कार्यस्थलमा गएर रजिस्टार रामप्रसाद प्याकुरेललाई लछारपछार गरेर हातपात गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेकी छिन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले नेकपाका कार्यकर्ताको उछृङ्खल र अराजक गतिविधिको खेद प्रकट गरिन् ।

रजिष्टार रामप्रसाद प्याकुरेललाई लछारपछार र हातपात गरेको सीसीटीभीको फुटेजले पनि नेकपाका नेता तथा कार्यकर्ताहरूले अराजक गतिविधि गरेको देखाएको भन्दै उनले दोषीविरुद्ध किटानी जोहेरी दिँदा समेत दोषीलाई पक्राउ नगरिएको भन्दै चिन्ता जनाइन् ।

‘सत्तारुढ नेकपाको शक्तिको आडमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउने गतिविधि भएको छ’, उनले भनिन्, ‘नेकपाका कार्यकर्ताले लगाएको ताला प्रहरीले तोडेको छ । अराजक र उछृङ्खल कार्य गर्नेहरूविरुद्ध किटानी जाहेरी दिँदा पनि पक्राउ गरिएको छैन ।’

उनले भनिन्, ‘यस्तै अराजकता मच्चाउँदै जाने हो भने लोकतन्त्रलाई सहयोग मिल्नैन । सत्तारुढ दल नेकपाका कार्यकर्ताहरूलाई कानून लाग्छ कि लाग्दै ? यो बल र तागत कहाँ बाट आयो ?’ उनले नेकपाका कार्यकर्ताको यस्ता खालका दादागिरि अन्त्य गर्न माग गरेकी छिन् ।

‘यस्ता गतिविधिले समाज बदल्न सक्दैन । सरकार कहाँ छ ?’, प्रश्न गर्दै नेपाली कांग्रेसकी सांसद देवकोटाले भनिन्, ‘अराजकता दादागिरि देखाउनेलाई कारबाही गरियोस् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरूलाई शान्ति सुरक्षा दिइयोस् ।’

उनले भनेकी छिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वस्थ्यका कर्मचारीहरूले असुरक्षित महसुस गरेका छन् । दोषीलाई कानून बमोजिम कारबाही होस् ।’

सांसद देवकोटाले शक्तिको आडमा जे पनि गर्दा हुन्छ भन्ने गतिविधिलाई रोक्न माग गरेकी छिन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक विकिरण गौतम, सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेकपाका नेता विवेक श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेरी दिएको उपकुलपति संगीता भण्डारीले बताएकी छिन् ।

उनीहरू सबै सत्तारुढ नेकपा निकटका हुन् । उनीहरूले बुधबार प्रहरीलाई समेत धकेल्दै प्रतिष्ठानमा पुगेर ताला लगाएका थिए । साथै उनीहरूमध्येका नेकपाका नेता विवेक श्रष्ठले रजिष्टार रामप्रसाद प्याकुरेललाई कार्यकक्षबाट बाहिर निकाल्दै धकेलेर लडाएका थिए ।

Published : Thursday, 2019 August 29, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया