मुलुकले फेरि कांग्रेसलाई खोजिरहेको छः पूर्णबहादुर खड्का

दुबई । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वीपी कोइरालाले समयानुसार लिएका रणनीतिलाई बुझेनौँ भने पार्टी समाप्त हुने चेतावनी दिएका छन् ।

नेपाली जनसम्पर्क समिति युएईको अधिवेशनलाई केही दिन अगाडि सम्बोधन गर्दै खड्काले वीपीले समय र परिस्थितिअनुसार रणनीति बनाउँदै जनताको अधिकारका लागि संघर्ष गरेको बताए ।

‘राजासँगको मेलमिलाप एउटा सन्दर्भ थियो । राजा छैनन् अनि वीपीले त्यो विचार लिनु भएको थियो । नेपाली कांग्रेसले त्यो विचार छाड्यो भन्ने कुरा पनि बेलाबेला सुनिने गरेको छ । यो गलत कुरा हो ।’

उनले भने, ‘त्यो विचार आयो भनेर हामी रियाक्टेड हुनुपर्ने अवस्था छैन । वीपीले लिनुभएको रणनीति फरक–फरक थिए । समय सापेक्ष थिए ।’

‘सहमति, सहकार्य र एकताको आवश्यक्ता छ’, उनले भने, ‘सिंगो नेपाललाई कांग्रेसले नेतृत्व गर्ने बेला आएको छ ।’

उनले पार्टीभित्र आएको विवादलाई मिलाउनुपर्ने आवश्यक्ता रहेको पनि बताएका छन् । ‘मिडियामा, पार्टी बाहिर र केन्द्रीय कार्यसमितिमा विवाद उठ्यो’, महामन्त्री खड्काले भने, ‘विवादलाई यही केन्द्रीय कार्यसमितिमा मिलाउने प्रयास भएको छ ।’

उनले पार्टीभित्रको विवादलाई मिलाइर नयाँ संरचनामा नेपाली कांग्रेस अगाडि बढ्ने बताए । ‘विधान नयाँ आएको छ । कसरी अगाडि जाने भन्नेमा छौँ’, उनले भने, ‘१४औँ महाधिवेशन कहिले गर्न सक्छौँ भनेर हेरेका छौँ । अन्तरिम संरचानाको निर्माण भएको छ । विधानको व्याख्या गर्दै १३औँ महाविधेशनका संरचनालाई समायोजन गरेर जाने अवस्थामा हामी पुगेका छौँ ।’

महामन्त्री खड्काले भने, ‘१४औँ महाधिवेशन गर्नुपर्ने अवस्था छ । नयाँ संरचना गर्न सहमति, सहकार्य र एकता गर्नै पर्छ । मंसिरभित्रै सहमतिका आधारमा सबै संरचनाहरू निर्माण हुनेछ । ढिलोमा ०७७ फागुनभित्र १४औँ महाधिवेशन गरिनेछ ।’

उनले पार्टीभित्रको विवाद अन्त्य गर्ने हो भने नेपाली कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका थिए ।

महामन्त्री खड्काले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानमाथि आक्रमण हुने सम्भावना बढेको भन्दै अधिकार र संविधानको रक्षाका लागि सडक र सदनमा आन्दोलन गर्ने अवस्था आउन सक्ने बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गुट उपगुट र पार्टीभित्रका व्यक्तिगत स्वार्थलाई त्याग गरेर कांग्रेसका लागि एक हुनुपर्ने आवश्यक्ता आएको बताए ।

उनले विदेशमा पनि नेपाली कांग्रेसका शुभेच्छुक र समर्थकहरू धेरै रहेको भन्दै उनीहरूको साथ र समर्थन लिएर अगाडि बढ्नुपर्ने बताए ।

खतिवडाले आगामी दिनमा नेपाली कांग्रेसले विदेशमा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरूको मागलाई सम्बोधन गर्नेतिर ध्यान दिनुपर्ने बताए ।

अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँसहितका नेताहरूको सहभागिता रहेको थियो ।

अधिवेशनले युएईको नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको थियो ।

Published : Thursday, 2019 August 15, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया